यौनको लाइसेन्स

खरीबोट

हाम्रो नेपाली समाज यौनका बिषयमा खुला होला या साँघुरो ?  सबैले सजिलै भन्छन्, पहिले त निकै साँघुरो थियो तर अचेल बिस्तारै खुल्दै गएको छ । 

यो प्रश्न मैले मेरा केहि साथीहरुसँग पनि सोधेको थिएँ । केहिले बिस्तारै खुल्दैछ भन्ने उत्तर दिए भने केहिले समाज पुरै खत्तम भैसक्यो भन्ने आशयका उत्तर दिए । यौनको मामिलामा खुल्दैछ भन्नेहरुको नजरमा, केटाकेटीको मित्रता, लिभ–इन–टुगेदर, घरमा बिहे अघि प्रेमीप्रमिका छ या छैन भन्नेबारे सोध्नु, बिहे अघिको यौन सम्बन्धलाई स्विकार्नु लगायतका थिए भने, केटाकेटी अंगालो मार्दै हिडेको, केटीले छोटा कपडा लगाएको, बिहे अघिदेखि नै गर्भपतनको काम सुरु भएको जस्ता तर्क समाजमा बिकृति फैलिएको भन्नेवालाको थियो । 

जे होस् कुरा, यौनका बारेमा नेपाली समाज खुला छ या छैन भन्ने नै हो । गत हप्ता एक त्यस्तै कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । जहाँ यौन मनोविश्लेषक डा. राजेन्द्र भद्राको एक प्रस्तुतीकरण थियो । उक्त प्रस्तुतीकरण हेरिसकेपछि भने हामी अहिले पो यौनका बिषयमा साँघुरो बनिरहेका छौं कि भन्ने महशुस भयो । 

उनका अनुसार हाम्रो समाज यौनका मामिलामा निकै खुला छ । हाम्रा सिनेमा, गीत, टेलिभिजनका बिज्ञान, चित्रकला लगायत हरेक कुरामा यौन खुला रुपमा छ । हाम्रा साँस्कृतिक कुरामा यौन समावेश छ । हाम्रा हरेक क्रियाकलापमा यौन खुला रुपमा छ । हरेक ठाउँमा खुला रहेको यौनलाई हामी भने साँघुरो छ भनिरहेका छौं, यो सोचनिय बिषय हो । 

प्राचिन समाजले यौनको यसै महत्वलाई बुझेर यौनक्रिडाका मूर्ति तथा चित्र हाम्रा मन्दिरका टुँडालमा स्थापित गरेको बताइन्छ । अझै इतिहासलाई खोतल्ने हो भने त, उ बेला जनसंख्या बृद्धिका लागि जोडिलाई उत्तेजना पैदा होस् भन्नका लागि टुँडालहरु बन्ने गरेको बिभिन्न पुस्तकहरुमा उल्लेख छ । त्यस्तै केटाकेटीको भेटघाट अर्थात अचेलको डेटिङ स्थान मन्दिर हुने भएकाले र भगवान यौनक्रिडामा रमाइरहेका चित्र देख्दा पापको भय कम होस् भनेर पनि टुँडाल बनाईएको बताईन्छ ।

पुष्पा थपलिया

यिनै टुँडाललाई हेर्ने हो भनेपनि यौन पाप कर्म होइन भन्ने सन्देश जान्छ । हाम्रो पुरानो समाजले पनि यसलाई पापको रुपमा नभएर पुण्यकै हिसाबले हेर्दोरहेछ भने हाम्रो आधुनिक समाज कसरी यौनका मामिलामा साँघुरो हुन गयो होला त ! यदि यौनलाई पापको नजरले हेर्ने हो भने त कुनै पनि मानिस धार्मिक हुनै सक्दैन, किनकि ऊ त्यसै पापको प्रतिफल हो ।

हाम्रो समाजमा यौनको बिषय खुला छ तर त्यसलाई बुझ्ने तौरतरिका भने फरक फरक छन् । यौन यतिसम्म बर्जित छ कि, कसैले यसको बारेमा गफ गरेको, सुनेको, पढेको वा हेरेको थाहा पाईयो भने त्यस व्यक्तिप्रति हामी तुरून्त नकारात्मक धराणा बनाईहाल्छौ तर यसैलाई सिलसिला मिलाएर गर्ने हो भने खुलमखुल्ला सम्मानका साथ ब्यक्त गर्न सक्छौं ।

उदाहरणका लागि लमी (बिबाह गराउने ब्यक्ती) लाई नै हेरौं न । लमी खुलमखुल्ला कुनै केटीको घरमा गएर उसको बाउ-आमासँग उसको छोरी कसैको छोरासँग यौनसम्बन्ध बनाउनका लागि माग्न जान्छ, कसैका लागि यौन सम्बन्धका लागि योग्य सुकन्या पाईन्छ या पाईदैन भनेर चौतारीमा बसेर छलफल गर्छ, फलानाका छोरा या छोरी यौन सम्बन्धका लागि तयार छन् भनेर मानिसहरु खुला ठाउँमा बहस गर्छन् । तर यहि कुरा, यदि कुनै बिबाह गर्ने समय भएको केटोले गर्छ भने त्यो अश्लिल मानिन्छ । उदाहरणका लागि, कुनै केटोका लागि यौन सम्बन्ध बनाउन मन लाग्यो र उ केटीको बाउकोमा गयो । केटीको बाउलाई, म तिम्री छोरीसँग यौन सम्बन्ध राख्न चाहन्छु, जसका लागि बिबाह गर्न चाहन्छु, तिम्री छोरी देउ भनेर माग्यो भने त्यो केटोको हालत के होला ।

धेरै टाढा किन जानु । बिबाहलाई नै हेरौं न । अहिले त बिबाहलाई लाइसेन्स समेत भन्ने गरिएको छ । यौन सम्बन्धका लागि सबैको अनुमती मिलेको दिनका रुपमा समेत बिबाहलाई हेरिन्छ । 

यौन हाम्रो समाजमा खुला छ तर मानिसको सोचाई भने खुला हुन सकेको छैन । किनभने यौन, प्यान्डोराज बक्सजस्तै हो । जुन बक्सलाई खोल्न निषेध गरिन्छ तर मानिस त्यो बक्स खोल्न चाहन्छ र त्यहाँ के छ भन्ने बिषयमा जान्न चाहन्छ । त्यसैले यसलाई हामीले सभ्य तरिकाले बुझ्न पनि जरुरी छ । 

रजनिश भन्छन्, ‘भोगबाट त्याग हुन्छ, मानौं यदि कुनै मानिसलाई जेरी खाने मन छ तर उसले जेरी खान पाएको छैन भने जबसम्म उसले अमन हुने गरि जेरी खान पाउँदैन तबसम्म उसमा जेरी खाने लालसा रहिरहन्छ । तर, उसलाई अमन हुने गरि जेरी खुवाई दिने हो भने उसलाई फेरि तत्काल थप जेरी खाने लालसा नहुन सक्छ ।

यसको मतलब हामी जथाभावी यौन सम्बन्ध स्थापित गर्दै हिड्न पाउनु पर्छ भन्ने चाहीँ होइन । हामी जति यौनलाई दबाएर राख्ने कोशिस गछौं उति खतरनाक बन्न सक्छ भन्ने मात्रै हो ।

उदाहरणका लागि खोलाको पानीलाई नै हेरौं न । बगिरहेको पानीलाई हामीले थुनेर राख्यौं भने के हुन्छ ? त्यसले बगेर जानका लागि अनेक बाटाहरु खोज्न थाल्छ र कुनै बेला बाँधै फुटाएर समेत बिनास गर्नसक्छ । 

मानिसको सोचाई साँघुरो बन्दा यौन हिनताबोधको बिषय समेत बन्न पुगेको देखिन्छ । केहि समयअघि नुवाकोट घर भई काठमाडौं बालाजु बस्ने एक महिलाले आत्महत्या गरिन् । बिहे भएको तीन महिनामै आत्महत्या गर्ने उनको ज्यान हिनताबोधले लिएको थियो । बिहे अघि उनको प्रेम अर्के केटोसँग रहेछ, तर अन्तिम समयमा ति महिलाको प्रेम सफल हुन सकेन ।

जसका कारण उनको बिबाह अर्कै केटोसँग  हुनगयो । बिबाह हुँदा उनको पेटमा तीन महिनाको बच्चा रहेछ । उनको श्रीमानले पेटको बच्चा स्विकार गर्दा समेत उनले आत्महत्या गरिन्, यसको कारण थियो ग्लानी तथा हिनतावोध ।  

यौनको बिषय निकै रोचक पनि छ । मानिसहरु नैतिकवान देखिन यसबारे बोल्न हिचकिचाउँछन् तर आफु एक्लो हुने वित्तिकै यौनकै बारेमा सोच्न थालिहाल्छन् । यौन मनोचिकत्सक समेत रहेका डा. सिग्मन्ड फ्राइडले भनेका थिए, ‘मानिसको मस्तिस्कमा अधिकांश समय यौनले प्रधानता पाईरहेको हुन्छ र उसले गर्ने धेरै क्रियाकलाप जानी नजानी यौनसँग सरोकार राख्ने खालको हुन्छ ।’

यौन फराकिलो बिषय हो तर हामी यसलाई साँघुरो बनाउने कोशिस गरिरहेका छौं । यसको उदाहरणका रुपमा माध्यामिक तहमा स्वास्थ्य तथा जनसंख्या बिषय हटाउनुलाई लिन सकिन्छ । जुन समयमा किशोर किशोरी बयस्क हुन्छन् र आफ्नो शारिरीक बनावटका बारेमा जिज्ञासु बन्छन्, त्यहि समयमा यी बिषयहरु पढाई हुन जरुरी थियो । किशोरीहरुलाई गुड टच र ब्याड टचका बारेमा जानकारी दिनु आवश्यक थियो, त्यहि समयमा स्वास्थ बिषय हटाइनु बिडम्बना हो । 

कतै हामी बिकिनी लगाएर स्विमिङ्ग पुलमा फोटो खिचाउनुलाई त यौनका मामिलामा खुला भनिरहेका छैनौं ? कतै छोटा कपडा लगाउनु र बिहे अघि संगै बस्नुलाई यौनबारे खुल्दै गएको भनिरहेका त छैनौं ? यदि यसैलाई खुला भनिरहेका छौं भने हामी गलत छौं । हाम्रो समाज त पहिलेदेखि नै यौनका बारेमा खुला थियो, अब सोचाईलाई मात्रै खुला बनाउन जरुरी छ ।

सम्बन्धित समाचार

शिक्षा प्रणालीमा पूर्वीय दर्शनको प्रयोग ! 

पूर्विय दर्शनअन्तर्गत चीनियाँ, भारतीय, कोरियन, थाइल्यान्ड, म्यान्मारका दर्शनहरु पर्दछ्न् । यी मध्ये भारतीय  र चीनियाँ दर्शन श्रेष्ठ छन् । हाम्रो हावा पानी र आधार सुहाउँदो दर्शन पुर्वोय दर्शन नै हो

जेनेभा महासन्धि पारित भएको ७० वर्ष

काठमाडौँ । विश्वको बदलिँदो भूराजनीतिक अवस्था र साइबर आक्रमणले जेनेभा महासन्धिको सान्दर्भिकता बढ्दै गएकामा जोड दिइएको छ । युद्धका बेला मानवीय पीडालाई न्यूनीकरण गर्न र युद्धलाई नियमन गर्न महासन्धिले महत्वपूर्ण

किन र कसरी सिक्ने वक्तृत्वकला ?

आफ्नो मनमा लागेका कुराहरू बोलेर अरुलाइ प्रभावित पार्ने लोभ कसलाई पो हुदैन र ? आफूले जानेका र भोगेका कुराहरु राम्रोसँग अभिब्यक्त गर्ने मानिसको अभिलाषा हुन्छ । आफ्नो ब्यक्तित्व, कृतित्व र

रिसाइरहेको भोटेकोशीसँग जिस्कँदा...

‘डरके आगे जित हे ।’ यो हरफ युवापुस्ताको मन पर्ने हरफहरुमध्ये एक हो । हुन त एक कोल्ड ड्रिंक्स कम्पनीको बिज्ञापनमा अटाएको यो हरफ जित्न चाहने हरेकको फेवरेट कोटेसन भईसक्यो


z