• २०८१ बैशाख १५ शनिबार

चित्लाङमा पटकथा लेखन कार्यशाला

kharibot

चित्लाङ । बुधबारबाट मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु भएको छ । पटकथा सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ आइपुगेका छन् ।

चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए । मन्त्री जमरकट्टेलले कार्यशाला आयोजनाको प्रशंसा गर्दै राज्य नेपाली फिल्मको स्तरउन्नतिका लागि चिन्तित रहेको बताए । 

‘फिल्म समाजको प्रतिबिम्ब हो, यसले सांस्कृतिक संरक्षणमा मद्दत पुर्याउँछ,’ उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘तर, यसका लागि राज्यले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको गुनासो सुन्ने गरिन्छ । हामी यो गुनासो सम्बोधन गर्न सकरात्मक छौ । त्यसैले दोलखामा फिल्म सिटी बनाउने कार्यलाई पनि तिब्रता दिने तरखरमा छौ ।’

त्यस्तै वरिष्ठ अभिनेता नीर शाहले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन यस्ता वर्कशपले सहयोग पुर्याउने बताए । ‘हामीले नेपालमा विदेशी फिल्म लगभग विस्थापित गरिसक्यौं । अहिले सिनेमा हलमा ६५ प्रतिशत दर्शक नेपाली फिल्मका छन् तैपनि हामीले नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन सकेको छैनौं । यस्ता कार्यशालले नै त्यो पहिचान दिलाउन सहयोग पुर्याउने हो ।’

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि यो वकर्शपले भूमिका खेल्ने आशा व्यक्त गरे । ‘पटकथा फिल्मको मेरुदन्ड हो। यो बलियो भएन फिल्म बलियो हुनसक्दैन,’ उनले भने, ‘त्यसैले म बोर्ड बाहिर रहँदा पनि पटकथा लेखन एकदमै महत्वपुर्ण महसुस गर्थें । यस्ता कार्यक्रम बोर्डले आयोजना गरे हुन्थ्यो भन्ने लाग्थ्यो त्यसैले अहिले प्रस्ताव आउनासाथ सहकार्य गरियो ।’ 

कार्यशालामा प्रशिक्षण दिन आएका रोबिन भट्टले ७० बढी बलिउड फिल्म लेखेका छन् । उनले हिट हिन्दी फिल्महरु ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि लेखेका हुन् । त्यस्तै जेफ भने अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीमा पढाउँछन् । 
‘नेपाल आउने रहर पहिला देखि नै थियो । आफ्नो लेखनयात्रा नेपालका लेखकसँग बाँड्न पाउँदा म साँच्चिकै उत्साहित छु,’ प्रशिक्षक भट्टले भने । 

जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका शैली, अभ्यास र व्याकरण सिकाउँदै छन् । 

आयोजक एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला आयोजना गरेको बताए । ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा गरेका छौं,’ उनले भने ।  

कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्न पर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ । उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि १ लाख नगद उपलब्ध गराउने अध्यक्ष पाठकले बताए । कार्यशाला चित्लाङको चित्लाङ रिसोर्टमा ७ दिनसम्म चल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै