• २०८१ बैशाख १५ शनिबार

ब्रेक्जिटबारे छलफल गर्न बेलायती प्रधानमन्त्रीद्वारा इयू नेतासँग भेट गर्दै

kharibot

लण्डन । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनबारे छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयू प्रमुख जाँ क्लाउड यङ्करसँग सोमबार कुराकानी गर्ने भएको प्रधानमन्त्री कार्यालयले शुक्रबार जानकारी गराएको छ ।  

“प्रधानमन्त्री जोनसन सोमबार दिउसो लक्जेम्वर्ग जाने र ब्रेक्जिटका बिषयमा इयू नेता यङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ,” प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले बताए । 

यो जोनसनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि छिट्टै इयू प्रमुखबाट विदा लिन लागेका यङ्करसँगको पहिलो बैठक हुनेछ । यद्यपि आगामी बैठकबाट कुनै समाधानको अपेक्षा भने गरिएको छैन ।

“यङ्करसँगको कुराकानी पछि जोनसनले लक्जेमवर्गका प्रधानमन्त्रीले जेभियर बेट्टेलसँग भेट गर्ने कार्यक्रम रहेको छ,” प्रधानमन्त्रीको कार्यालयले बताएको छ । 

जोनसनको लक्जेम्वर्ग भ्रमण ब्रेक्जिट सम्झौताका लागि हुने यूरोपेली प्रमुख नेताहरूसँगको अन्तिम भेट हुनेछ । यसपहिले उहाँले जर्मनी, फ्रान्स तथा यूरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कलगायतसँग भेटवार्ता गरेका थिए ।

“हामीले ब्रेक्जिट सम्झौताका लागि कडा गृहकार्य गरिरहेका छौँ, छलफलहरू भइरहेका छन् तर यसका लागि लामो समय वितिसकेको छ त्यसैले वार्ताहरूबाट ठोस उपलब्धि हुने सम्भावना घटेर गएको छ,” प्रवक्ताले भने ।  

जोनसोनले इयूसँग सम्भवभए सम्झौता गरेर नभए सम्झौताहीन अवस्थामा भएपनि तोकिएको समय (अक्टोबर ३१) मा नै इयूबाट बाहिरिने कुरा पटकपटक दोहोर्याएका छन् ।

उनले अर्थहीन अवस्थामा ब्रेक्जिटबारे समयको बर्बादी गर्न ब्रसेल्सलाई सोध्ने थप प्रयास नहुने पनि बताए । 

बेलायतकी पूर्व प्रधानमन्त्री टरिजा मेले इयूसँग गरेको सम्झौता बेलायती संसदबाट अनुमोदन हुन नसक्दा यस अघि दुई पटकसम्म तोकिएका समयमा ब्रेक्जिटका लागि गरिएका प्रयास विफल भएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै