• २०८१ कार्तिक १६ शुक्रबार

शान्तिपुर मन्दिरको जीर्णोद्धार चार करोडमा

kharibot

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ ।

भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो । स्वयम्भूको संरक्षण तथा व्यवस्थापनमा सक्रिय महासमितिका महासचिव महेन्द्ररत्न बज्राचार्यले स्वदेशी तथा विदेशी दातृ संस्थाबाट सङ्कलन गरेको आर्थिक स्रोतबाट खर्च गरिएको जानकारी दिए ।

उनका अनुसार तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्तिबाट निर्माण गर्नुपर्ने उक्त सम्पदामा तान्त्रिक देवी भएकाले विशेष पूजा गरिनेछ । केही गोप्य कागजपत्र, तान्त्रिक पूजाका अभ्यास र तान्त्रिक देवदेवीको साधना विधि राखिएका छन् ।

उक्त सम्पदा कहिले निर्माण भएको भनेर यकिनका साथ भन्न सकिँदैन, सर्वसाधारणलाई भित्र जान प्रतिबन्ध गरिएको छ । शान्तिपुरभित्र भएका भित्तेलेखन मल्लकालीन समयसँग मिल्दोजुल्दो पाइएकाले आठौँदेखि १२औँ शताब्दीको बीचमा सो मन्दिर निर्माण भएको विश्वास गरिएको छ ।

स्वयम्भू महाचैत्यदेखि करीब ३ सय मिटरको दूरीमा रहेका उक्त सम्पदा काठमाडौँ महानगरपालिका–१५ मा पर्छ । सम्पदा प्राचीन भए पनि पछिल्लो समय विकास भएका प्रविधिको प्रयोग गरी मर्मत सम्भार गरिएको छ । स्वयम्भू तथा त्यस वरपर क्षेत्रमा शान्तिपुर, अग्निपुर, वायुपुर, नागपुर, अनन्तपुरलगायत महत्वपूर्ण सम्पदा छन् । अग्निपुर, शान्तिपुर, प्रतापपुर र पुरानो तामाङ गुम्बा पूर्णरूपमा भत्किएका सम्पदा हुन् ।

पुरातत्व विभागका अनुसार २०७२ को भूकम्पमा परी कूल ७५३ चैत्य, मन्दिर तथा गुम्बलगायत सम्पदामा क्षति पुगेको थियो । देशभर भूकम्पबाट क्षतिग्रस्त भएका विभिन्न धार्मिक तथा पुरातात्विक महत्वको बौद्ध, चैत्य, गुम्बा तथा मठमन्दिरको जीर्णोद्वार कार्यले गति लिन सकेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै