• २०८१ बैशाख २३ आइतबार

कम्युनिष्ट आन्दोलनका पुराना नेता प्रसाई बने प्रदेश प्रमुख

kharibot

भद्रपुर । प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन् । उनि विसं २०२७ यता भएका बिभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय निर्वासित भएका थिए ।

झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका प्रसाईँ १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लागे । झापा आन्दोलनमा सक्रिय उनि विद्यार्थीकालमा विसं २०२७ मा अनारमनीमा भएको अनेरास्ववियुको कार्यक्रममा पहिलोपटक पक्राउ परी एक महिना राजबन्दी भएका थिए ।

पञ्चायती शासनको विरोध गर्दै विसं २०३७ मा झापामा भएको पाटा आन्दोलनमा आठ महिना र विसं २०४५ मा २२ महिना जेल परेका उनि झापाकै पुराना जुझारु कम्युनिस्ट नेता मानिन्छन् । विसं २०२७ मै तत्कालीन भूमिगत नेकपा मालेको सम्पर्कमा रहेका उनि प्रधानमन्त्री केपी शर्मा ओली, सिपी मैनाली लगायतसँग का समकालीन नेता हुन् । तेह्रथुम र झापामा नेकपा मालेको सङ्गठन विस्तार र राजनीतिक आन्दोलनमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको थियो ।

लता प्रसाईसँग विवाह गरेको भोलिपल्टै उनलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनि लामो अवधिसम्म भारतमा निर्वासित हुनुपरेको थियो । निर्वासनमा रहँदासमेत उनले पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गरेका थिए । विसं २०३६ देखि २०४५ सम्म पूर्वी नेपालमा हुने पञ्चायत विरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले उनलाई नै पक्राउको वारेन्ट जारी गर्थ्यो ।

विसं २०४६ को आन्दोलनमा पञ्चायती सरकारले उनलाई पक्राउ गरेर जेलमा बन्दी बनाएको थियो । विसं २०६२/६३ को आन्दोलनमा उनि झापामा आन्दोलनका नायक नै मानिन्थे । विसं २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको विशाल जनविद्रोहका बेला उनि प्रहरी दमनमा परेर गम्भीर घाइते भएका थिए ।

प्रसाईँ तत्कालीन नेकपा मालेको नीति अनुरुप नै विसं २०४३ मा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । उनले आफ्नो कार्यकाल पञ्चायत विरोधी गतिविधिमा केन्द्रित गरे र पार्टीको सङ्गठन विस्तारमा लागिरहे । उनलाई पञ्चायती शासकले अपराजय बाघ नै सम्झन्थे । त्यसबेला झापामा जुझारु छविका कारण उनलाई ‘झापाली टाइगर’ भनिन्थ्यो ।

विसं २०५४ मा उनि जिल्ला विकास समितिको उपसभापतिमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भए । विसं २०५६ मा झापा क्षेत्र नं ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका थियो । साथै उनि तत्कालीन एमाले सरकारका पालामा नेपाल चिया विकास निगमको महाप्रबन्धक नियुक्ति भएका थिए ।

झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किए ता पनि उनि किसान, मोही हकवाला र मजदुर वर्गको असल मित्र थिए । उनले आफ्नै बुबाले मोहीमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गरेका थिए ।

प्रसाईँ विसं २०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै