• २०८१ बैशाख १४ शुक्रबार

महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा नै हो – माधवकुमार नेपाल 

kharibot

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा नै रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नीति तथा अनुसन्धान आयोगले आयोजना गरेको नेपालको पश्चिमी सीमा र भारतले जारी गरेको नक्साको विषयमा बहस कार्यक्रममा पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सो कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्नु हुदै नेता नेपालले सन् १९०३ मा बेजिङबाट प्रकाशित किंग डाईनेस्टि भन्ने पत्रिकामा वर्ल्ड एटलस अफ चाइनामा पनि यही तथ्य रहेको बताए । सन् १९२१ र १९३४ मा चीनद्वारा प्रकाशित नक्सा पनि लिम्पिया धारा नै महाकालीको मुहान बताइएको र उक्त तथ्य नै सहि भएको बताए ।

धेरै वर्ष पहिलेको स्कन्द पुरणमा समेत लिम्पिया धारा पार्वती कुण्ड नै महाकालीको  मुहान रहेको र अहिले भारतले उक्त स्थान कब्जा गरेको नेता नेपालले दाबि गरे । उनले विज्ञ तथा हाइड्रोलोजिस्टहरुको आधारमा पनि मुख्य नदी कुन रहेको सबैलाई थाहा हुने जानकारी दिए । 

विगतमा नेपाल सरकारको अनुशन्धान दलले सबै प्रमाण सहित थुप्रै दस्ताबेज बुझाइएको तर सरकारको आधिकारीक पक्षबाट त्यसलाई केहि वास्ता नगरिएको उनको गुनासो रहेको छ ।

उनले सरकारको संसदीय समितिको कर्मचारी र नापी विभागको कमजोरी भएको आरोप लगाएका छन् ।

भारतले आफ्नो कुरामा अडिग रहेर राष्ट्रिय सीमा विवादको विषयमा दृढताका साथ आफ्नो विचार व्यक्त गरेको भन्दै उनले नेपाली जनतालाई आफ्नो राष्ट्रको विषयमा एकजुट भएर बोल्नुपर्ने बताएका छन् । उनले सरकारको सुरक्षा निकायमा देशप्रति निष्पक्ष भाव भएका व्यक्ति हुनुपर्ने समेत बताए ।

उनले भने, "भारतको एउटा सानो विभागको कर्मचारीले आफ्नो देशको नक्साको विषयमा आफु अडिन हुन सक्छ भने नेपाल सरकारले आफ्नो सत्यतामा अडिग भएर अगाडी बढ्नुपर्छ।" 

नेता नेपालले राजा महेन्द्रले भारतलाई अतिक्रमण भएको भूभागको स्वामित्व दिएको विषयमा बोल्दै उनले सो कुरा साँचो नभएको र यस विषयमा तथ्य-प्रमाण नभएकोले हल्ला मात्र भएको स्पष्ट पारे । उनले हावाको पछाडी लाग्न नहुने बताउदै एउटा विज्ञले दिएको हचुवाको तर्कमा नेपालीहरुले बिश्वास गर्न नहुने बताए । महेन्द्रले दिएको कुरा केवल तरंगको रुपमा व्यापक प्रचार प्रसार भएकोमा सबैलाइ सचेत रहन आग्रह गरेका छन् ।  

विगतमा बिराटनगरमा भएको भारतीय फिल्ड अफिसको विवाद पनि बार्ताको माध्यमबाट नै हटाइएको प्रसंग निकाल्दै नेता नेपालले अहिले पनि यस विवादलाई उचित पहलबाट समाधान गर्न सकिने उनले बताए । 

२०४८ सालको टनकपुरको विषयमा कुरा गर्दै उनले भने," भारतले माहाकाली प्याकेजको कुरा लिएर महाकाली नदिलाई सिमानाको आधार मानेर नदिको आधा भाग नेपालको र आधा भाग भारतको रहेको भनि सम्झौता भएको हो, र यदि भारतले उक्त कुरा स्वीकार गर्दैन भने टनकपुरको सम्झौता पनि मिल्दैन ।" 

विगतमा बार्ताबाट धेरै विवाद समाधान भएकोले अहिले पनि त्यही तरिका अपनाउनु पर्ने उनले बताए । भारतका आँटिला प्रधानमन्त्री नरेन्द्र मोदले नेपालको भावना बुझ्नु पर्ने र महसुस गर्नुपर्ने र यदि नबुझेमा नेपालले महासुस गराउनु पर्ने भनेका छन्  । 

नेता नेपालले भारतसँग मात्र नभई चीनसँग पनि यस विषयको छलफल हुनुपर्ने साथै चीन र भारतले लिपुलेकमा गरेको सहमति आपतिजनक रहेको बताए । उनले भने," नेपालको भूभागसँग जोडिएको कुरामा कसरी नेपाल बिना सहमति गरे ? ।" 

यस विषयमा पुरै देश र सरकार एकबद्ध भएको र सरकारले तुरुन्त नीतिगत कदम चाल्नु पर्ने उनको भनाई छ । 

कार्यक्रममा नेता झलनाथ खनालले भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताए । 

नेता खनालले भने,‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा विषयक’ बहस कार्यक्रममा उहाँले सीमा सुरक्षामा कमजोरीको फाइदा उठाउँदै भारतले नेपालको भूमि अतिक्रमण गरेको बताए । 

“नेपालका तर्फबाट राम्रोसँग सीमा सुरक्षा हुनसकेको छैन”, उनले भने, “जसले गर्दा अहिले भारतले नेपालको भूमि अतिक्रमण गरेको हो, हामीले भारतको सीमामा आफ्नो सुरक्षालाई दरो बनाएर जानुपर्दछ ।” उनले सरकारले सीमा सुरक्षा पनि वृद्धि गर्नुपर्ने बताए । उनले स्थानीय प्रशासनले भारतीय सीमाबारे केन्द्र सरकारलाई बुझाएको प्रतिवेदनको सुनवाइ नहुँदा नेपालको सिमाना मिचिँदै आएको धारणा राखे । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले लिम्पियाधुराबाट निस्केको काली नदी नै भारतसँगको सीमा भएकामा दुईमत नरहेको उल्लेख गर्दै नेपालको वास्तविकता पश्चिम र दक्षिणको सीमा कहाँसम्म हो भनेर तथ्यगत ढङ्गबाट निर्क्यौल निकाल्नुपर्ने बताए ।

उक्त कर्यक्रममा नीति अध्ययन प्रतिष्ठानका अध्यक्ष झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम,  नेकपा माओवादीका सिपि गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठकलगायत अन्य वरिष्ठ नेताहरुको उपस्थिति थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै