• २०८१ बैशाख १५ शनिबार

कैलाली–कञ्चनपुरको सीमाको मोहना–राजघाट पुल पाँच बर्षदेखि अलपत्र

kharibot

धनगढी । कैलाली–कञ्चनपुरको सीमामा निर्माणाधीन मोहना–राजघाट पुल पाँच बर्ष देखि अलपत्र छ । सम्झौता अनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीका कारण निर्माणको काम अलपत्र परेको हो ।

कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा काम शुरु भएको साढे पाँच वर्ष पुग्न लाग्दा पनि पुल निर्माण हुन सकेको छैन । दुई बर्षभित्र काम सम्पन्न गर्ने गरी २०७१ असारमा एलाइट एड्भेन्चर जेभी सँग पुल निर्माणको सम्झौता भएको थियो ।

सम्झौता अवधिमा पुलको पिलर निर्माणको काम मात्रै सकिए पछि सडक विभागले निर्माण अवधि दुई वर्ष थप गर्दा पनि थपिएको एक वर्षमा पुल बन्न सकेको छैन । पछिल्लो पटक थप गरिएको समय गत असारमा सकिएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।

एक सय ७० मिटर लामो बन्ने पुल तीन स्पानको छ । हालसम्म एक स्पानको काम पनि पूरा भएको छैन । 

‘अब समय नरहेकाले निर्माण कम्पनीले हर्जाना भरेर पनि काम गर्नुको विकल्प छैन’, सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अर्जुन बमले भने–‘जसरी पनि पुल निर्माण हुनुपर्छ ।’ अब कुनै हालतमा म्याद थप नगरिने उनले उल्लेख गरे ।  आर्थिक वर्ष २०७०-०७१ मा ठेक्का पाएर एलाइट एडभेञ्चर जेभीले पुल निर्माणको काम थालेको थियो । 

तर, तीन वर्षको निर्माण अवधि पिल्लर ठर्याउने कार्यमामात्रै सकियो । आर्थिक वर्ष २०७२-०७३ को मसान्तसम्म रहेको समयावधि पिल्लर निर्माणमै सकिएपछि दुई वर्षको लागि पुनः म्याद थप गरिएको छ । थपिएको समयमा पनि पुल निर्माणको कार्यले आश लाग्दो गति लिन सकेन । निर्माण कम्पनीले अलमलमै समय गुजारेको छ । 

 अब पनि पुल निर्माणको कार्यले गति नलिए प्राविधिक रुपमा खतरा हुन सक्ने सडक डिभिजन कार्यालयको ठहर छ । उक्त कार्यालयका इञ्जिनीयर महेन्द्रराज पन्तका अनुसार ‘प्रि स्टेज ब्रिज’ मा केबुल हालेरमात्रै ढलान गर्नु पर्दछ । ढलान गरेको २८ दिनपछि केबुल तान्नु पर्दछ । केबुल तान्न सकिएन भने संरचना नै भत्किने सम्भावना प्रबल हुन्छ ।

‘असारमा खोला बढेमा केबुल तान्नमा ढिलाइ हुने र भोलि निम्तिन सक्ने दुर्घटनाका बारेमा हामीले निर्माण कम्पनीलाई पटक–पटक सतर्क गराएका छौं’, डिभिजन प्रमुख बमले भने–‘त्यसैले, चाँडै ढलान गर भनेर भन्दै आएका छौं ।’  सडक डिभिजन कार्यालयले भने तोकिएको समयावधिमा एउटा स्पानमात्र नभइ पुल नै बन्नु पर्ने जोड दिदैं आएको छ । 

शुरुमा सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो । अझै करीब ३० प्रतिशत भन्दा बढी काम बाँकी रहेको सडक डिभिजनले जनाएको छ । पुल नहुँदा नदी तर्नका लागि यात्रुले सास्ती खेप्दै आएका छन् । बर्खायाममा नदीमा डुङ्गा र हिउँदमा काठेपुलबाट स्थानीय बासिन्दाले नदी तर्नुपर्ने बाध्यता छ ।

दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा त्यहाँका स्थानीय बासिन्दा दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैंकिङ कारोवार, रोजगारी तथा औषधि उपचार लगायत कामका लागि दैनिक तीन-चार सय जनाभन्दा बढी धनगढी बजार पुग्ने गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै