• २०८१ बैशाख १५ शनिबार

टुटल र पठाओमाथि फेरी प्रतिबन्ध, एकबर्षसम्म पनि बनेन कानुन  

kharibot

काठमाडौँ । यातायात व्यवस्था विभागले मोटरसाइकलमार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न रोक लगाएको छ ।

२७ वर्षअघि जारी यातायात व्यवस्था ऐन–२०४९ मा भएको व्यवस्था प्रयोग गरी यात्रु ओसारे कारबाही गर्ने चेतावनी विभागले दिएको हो ।

विभागले मंगलबार टुटल र पठाओको नाम नलिई सार्वजनिक सूचना जारी गरेर राइड सेयरिङ सेवामाथि रोक लगाएको हो ।

निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई सार्वजनिक यातायातका रुपमा प्रयोग गरेको पाइएमा कारबाही गर्ने सूचनामा उल्लेख छ । 

निजी सवारी (नम्बर प्लेट) लाई सार्वजनिक सवारीका रूपमा प्रयोग गरेको जनगुनासो बढेपछि सूचना जारी गरेको विभागले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा ‘निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था रहेको छ ।

टुटलले तीन वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ डेढ वर्ष अघि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका छन् । यसअघि पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकलमा यात्रु ओसार्ने टुटल र पठाओलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

रातो प्लेटका सवारीसाधनले यात्रु ओसार्नु अवैधानिक हुने भएकाले कानुनी वैधता नपाएसम्म सञ्चालन गर्न नदिइने मन्त्रालयको तर्क छ  । उक्त निर्णयको सामाजिक सञ्जालमा विरोध भएपछि गत वर्ष माघमा प्रधानमन्त्री केपी ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’ लाई रोक नलगाउन निर्देशन दिएका थिए ।

टुटल र पठाओलाई रोकेपछि यसबारेमा बरु व्यवस्थित नीति बन्नुपर्ने, नियन्त्रण गर्न नहुने धारणा सामाजिक सञ्जालहरूमा आएको थियो । यसको सेवा लिइरहनेहरूले महँगो ट्याक्सी, सवारी जामका कारण झेल्नुपरिरहेको समस्यामा टुटल र पठाओ किफायती र सजिलो सेवा भन्दै व्यवस्थित बनाउन माग गरेका थिए ।

अहिले टुटल र पठाओमा करिब ५० हजार राइडर आवद्ध रहेका छन् भने दिनहु सेवा लिनेको संख्यापनि बढिरहेको छ । एकबर्ष सम्म पनि सरकारले आवश्यक नियम बनाएर टुटल र पठाओका बारेमा स्पष्ट हुन नसक्नुलाई सरकारकै कमजोरीको रुपमा टिप्पणी भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै