• २०८१ बैशाख २७ बिहीबार

टुटल र पठाओ बारे सरकारको अपरिपक्कता : कानुन बनाउने की धम्की दिने ?

kharibot

काठमाडौं । सरकारले सार्वजनिक यातायातमा सेवा दिइरहेका टुटल र पठाओलाई कारवाही गर्ने पछिल्लो चेतावनी पछि फेरी टुटल र पठाओ बारे बहस शुरु भएको छ ।

बहस यो ठिक या बेठिक भन्दा पनि सरकारको अपरिपक्कताका बारेमा भइरहेको छ । अहिले आम मानिसबीच काठमाडौँ उपत्यकामा लोकप्रिय रहेका टुटल र पठाओलाई सरकार कानुन बनाएर व्यवस्थित गर्नुको साटो पटक पटक कारवाही गर्ने धम्कि मात्र दिनुले उसको काम गर्ने परिपक्कतामा फेरी एक पटक प्रश्न उठेको छ । के कारवाही नै समाधान हो त ? हजारौ युवाले रोजगार र लाखौ मानिसले सेवा लिइरहेको विषयलाई सरकारले एउटा सूचना निकालेको भरमा धम्कि दिन मिल्छ ? भन्ने बहस चलिरहेको छ ।

पछिल्लो पटक के भयो ?       

यातायात व्यवस्था विभागले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न सूचना जारी गरेको छ । 

विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै विभाग घेराउ गरेपछि बिभागले साँझ एक सूचना प्रकाशित गर्दै कारवाही गर्ने भनेको थियो ।

विभागको सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको बताएको छ ।

यस अघि २०७५ माघमा पनि विभागले कारवाही गर्ने भनेपछि सामाजिक संजाल र मिडियामा व्यापक विरोध हुदा प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गर्दै कारवाही नगर्न निर्देशन दिएका थिए ।

त्यसपछि गत मंसिरमा विभागले फेरी सूचना निकालेर टुटल र पठाओको नाम उल्लेख नगरी जुन प्रयोजनका लागि दर्ता भएको हो सोहि प्रयोजनको काम गर्न भन्दै कारवाहीको चेतावनी दिएको थियो । सोहि सूचनाको आधारमा ट्राफिक प्रहरीले टुटल तथा पठाओका चालकलाई कारवाही शुरु गरेको थियो । यो विवाद फेरी चर्किएपछि यातायात मन्त्री बसन्त नेम्वाङले टुटल पठाओका चालकलाई कारवाही नगर्न निर्देशन दिएका थिए ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालकहरु भने टुटल र पठाओका कारण आफ्नो व्यवसाय धरापमा परेको भन्दै विरोधमा रहेका छन् ।

सरकारको अपरिपक्कता :

वर्तमान सरकार गठन भएपछि तीन पटक टुटल र पठाओ सरकारको निशानामा परेका छन् । सरकार गठन भएको अर्को महिनामा नै सार्वजनिक यातायातलाई व्यवस्थित गर्न यस क्षेत्रमा भएको सिन्डिकेटको अन्त्य गर्ने भन्दै देशका सम्पूर्ण व्यवसायी समितिलाई भंग गर्ने निर्णय गर्यो । अन्तत: सरकारको सिन्डिकेट अन्त्य गर्ने योजनाविहिन कदम अहिले आएर जस्ताको तस्तै अवस्थामा रहेको छ । यसलाई सार्थकरुपमा टुंगाउन नत सरकारसँग त्यति बेला योजना थियो न अहिलेनै रहेको देखिन्छ । खासगरी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातको भद्रगोलका बीच टुटल र पठाओले एक नयाँ विकल्प दिदै दिएको सेवा र रोजगारलाई सरकारले अहिलेसम्म पनि नजरअन्दाज गरेको देखिएको छ ।

सरकारले अहिले नै कुनै नियमनको विधि बनाएर यसलाई मान्यता दिन ढिला नगर्नु नै उपयुक्त हुने देखिन्छ । यसले सार्वजनिक यातायातको विकल्प मात्र दिदैन यँहा रहेका युवाहरुलाई वैकल्पिक कमाई गर्ने माध्यम पनि बनेको छ । काठमाडौँमा ट्याक्सीवालाको दबाबमा परेर सरकारले पछिल्लो कदम चालेको देखिएको छ । तर ट्याक्सीले आम उपभोक्तामा मचाएको लुटलाई सरकारले नदेखे झैँ गरेको छ ।

कसरी आयो यो अवधारणा ?

यसरी निजी सवारीसाधनले यात्रु ओसारपसार गर्ने सेवा नाकाबन्दीको भेला भएको इन्धन अभाव चर्किएपछि लोकप्रिय बनेको हो । त्यति बेला निजी सवारीसाधनहरुले स्वफूर्त रुपमा 'लिफ्ट कल्चर' र 'कार पुलिंग'को सेवा चलाएका थिए । यसैबाट प्रभावित भएर टुटल एप सुरु भएको थियो । अहिले टुटल एपका हजारौ प्रयोगकर्ता छन् ।

त्यसैगरी टुटलजस्तै सेवा दिने 'पठाओ' एप भने बंगलादेशबाट आएको हो । बंगलादेशमा पनि सुरुमा त्यहाको सडक तथा यातायात प्राधिकरणले निजी सवारी साधनले यात्रु ओसार्ने कार्यलाई अवैधानिक ठहर गरेको थियो । त्यसपछि पठाओ, उबर लगायतका कम्पनीले सरकारलाई नयाँ कानुन बनाउन दबाब दिएपछि त्यहाको सरकारले नयाँ मापदण्ड तोकेर उनीहरुलाई २०१८ फेब्रुअरीमा लाइसेन्स प्रदान गरेको थियो । त्यसै गरि २०१८ सेप्टेम्बरमा पठाओले नेपालमा पनि सेवा सुचारु गर्ने घोषणा गरेको थियो ।

कसरी लिन सकिन्छ सेवा ?

टुटल र पठाओबाट सेवा लिन मोबाइलमा उनीहरुको एप्लिकेसन डाउनलोड गर्नुपर्छ । एप्लिकेसनमा एउटा फारम भरेपछि यात्रुले उक्त एपमार्फत आफूदेखि सबैभन्दा नजिक रहेको मोटरसाइकल चालकलाई सम्पर्क गर्न सक्छन् । एपमा आफू रहेको ठाउँ, गन्तब्य र सेवा चाहिने समय उल्लेख गरेर बुक गरेपछि पुग्ने स्थानसम्मको दूरी र लाग्ने रकम उल्लेख हुन्छ । यो सेवा लिएबापत सेवाग्राहीले तिरेको रकमबाट प्रबिधि संचालकले केहि प्रतिशत लिएर बाँकी सवारी चालकले नै लिने गरेका छन् ।

त्यसैगरी राइड शेयारिंगका लागि अमेरिकाको उबर पनि संसार भर लोकप्रिय रहेको छ । उबेरले आफ्ना मोबाइल एप र वेबसाइट मार्फत राइड शेयर गर्ने, ट्याक्सी बुक गर्ने जस्ता सुबिधा दिने गर्दछ । उबरले पछिल्लो समय स्वचालित कार र ट्रकहरुमा पनि लगानी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै