• २०८१ बैशाख १४ शुक्रबार

श्रीलङ्काको प्रधानमन्त्रीमा महिन्दा राजापाक्षे नियुक्त

kharibot

कोलम्बो । श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएका राजापक्षे यसअघि झण्डै दश बर्ष राष्ट्रपति भएका थिए। सन् २००५ देखि २०१५ सम्म उनले राष्ट्रपतिको रुपमा श्रीलङ्कामा शासन गरेका थिए।

यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामाको घोषणा गरेका थिए। नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उनले राजिनामा दिएका हुन्।

राजिनामा दिने बारेमा विक्रमासिंघेले मङ्गलबार नै नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए। भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको समाचारमा जनाइएको छ।

विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाई महिन्दालाई प्रधानमन्त्री बनाएका हुन्। महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल सानो आकारको हुने जनाइएको छ।

सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ। श्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ। नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन्।

तत्कालिन सत्तारुढ दल युनाइडेट नेसनल पार्टी (युडीपी) का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेका सजिथ प्रेमादासलाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन्। पराजित भएका प्रेमादास भने ५३ बर्षको छन्।  

निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए।

अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिने गरेका थिए।

झण्डै दश बर्ष अगाडी रक्षा सचिव रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षे दाई महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव बनेका थिए। 

नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा गत शनिबार मतदान भएको थियो भने मत परिणाम आइतबार घोषणा गरिएको थियो।

निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदाता मध्ये झण्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताएका थिए।  

मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।

राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा थिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै