• २०८१ बैशाख १४ शुक्रबार

जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लाष्टिक टनेल

kharibot

सिञ्जा । बेमौसमी तरकारी खेती गर्ने क्रम बढेपछि जुम्ला र आसपासका क्षेत्रमा घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन्।

हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन्।

जुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ। अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ।

तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन्। अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा देखिएको छ।

प्लाष्टिक टनेलमा तरकारी खेती गर्न थालेपछि जिल्लामा उत्पादन पनि बढ्दै गएको छ। कनकासुन्दरी गाउपालिका–५ लुड्कुका गगन बुढाले प्लाष्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन हुन थालेको बताए। बुढा विगत केही वर्षबाट गाउँमै बस्दै आएका छन्।

“तरकारी खेती गर्न थालेपछि किसानको आम्दानी बढिरहेकै छ। बजारका बासिन्दाले समेत ताजा तरकारी उपभोग गर्न थालेका छन्”, उनले बताए। बाहिरी हावापानीको प्रभाव नपर्ने भएकाले टनेलमा तरकारी उत्पादन पनि राम्रो हुने गरेको उमा बुढाले जानकारी दिए।

प्लाष्टिक टनेलमा उत्पादन भएको साग प्रतिमुठा रु १५ देखि २० मा बिक्री हुने गरेको छ। स्थानीयवासीले धनियाँ, टमाटर, प्याज, काउली, लसुन, गाँजरलगायत तरकारी उत्पादन गरिरहेका छन्।

सदरमुकाममा अधिकांश तरकारीको भाउ रु १०० देखि १५० छ । बुढाले गत वर्ष तरकारी खेतीबाट रु एक लाख बचत गरेको जानकारी दिए। उनले खुर्सानी उत्पादनलाई प्राथमिकता दिएको बताए।

सदरमुकाममा बेमौसमी तरकारीको माग बढेकाले व्यावसायिक खेतीमा आकर्षण बढेको उनको भनाइ छ। यता सिञ्जा गाउँपालिका–६ कै मुन्कौरा बुढाले बजारमा तरकारी खेती गरिरहेका छन्। उनको बारीमा साग, धनियाँ, टमाटर र गाँजरको उत्पादन हुने गरेको छ।

मङ्सिरदेखि फागुनसम्म तरकारीका बिरुवा चिसोबाट जोगाउन टनेल निर्माण गरिएको उनको भनाइ छ। कतिपय बारीमा आएर साग, धनियाँ, टमाटर र गाजर लिने गरेको बुढाले बताए। बुढाले तरकारीबाट रु ५० हजारभन्दा बढी आम्दानी गरेको बताए। नियमितरूपमा घरमा खाने गरेको उनको भनाइ छ।

केही वर्षयताबाट तरकारी खेतीको लहर चलिरहेको छ। नेपालगञ्ज र सुर्खेतबाट आउने तरकारीको मूल्य रु २५० भन्दा माथि रहेको उनले जानकारी दिए। उनका अनुसार गाउँ–गाउँमा तरकारी उत्पादन बढ्दै गएपछि बाहिरको तरकारी कम भित्रन थालेको छ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै