• २०८१ बैशाख १५ शनिबार

निःशस्त्रीकरण सम्बन्धी वार्तामा अमेरिका र उत्तर कोरियाबीच अझै असहमति

kharibot

सोल। संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलन सो धारणाराखेका हुन् । उनले भने," आणविक कार्यक्रम र निःशस्त्रीकरणका विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति कायम भएको छ भन्ने लाग्दैन, उनीहरु अझै पनि यस विषयमा वार्तामा नै छन् ।" 

यस विषयमा हालैमात्र पनि उत्तर कोरियाले आफ्नो धारणा सार्वजनिक गरेको थियो । उत्तर कोरियाले पनि अमेरिकासँग सहमति हुन नसकेको आशय व्यक्त गरेको थियो । तर दक्षिण कोरियाले भने अमेरिका र उत्तर कोरियाबीच यस विषयमा वार्ता होस् भन्ने चाहेको उहाँको भनाई थियो । 

उपप्रवक्ता किम इयोन हानको अनुसार,"उत्तर कोरिया र अमेरिकाबीच शान्तिवार्ता होस् र दिगो शान्तिका लागि पहल होस् भन्ने पक्षमा दक्षिण कोरिया रहेको छ।" हालैमात्र एकजना उत्तर कोरियाली मन्त्रीले पनि यसै आशयको भनाई सार्वजनिक गरेका थिए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईको विरोध गरेका थिए। 

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका विरुद्धमा सैन्य शक्ति पनि प्रयोग हुन सक्ने भन्दै यसको सम्भावनाको बारेमा धारणा राखेका थिए । गत मङ्गलबार उनले नेटोको बैठकका क्रममा सो धारणा राखेका हुन् । 

तर यस भनाईको उत्तर कोरियाले व्यापक विरोध गरेको छ । राष्ट्रपति ट्रम्पले सकेसम्म यस्तो सैन्य शक्तिको प्रयोग उत्तर कोरियाको विरुद्धमा गर्नु नपरोस् यदि गर्नुपर्यो भने पनि अमेरिकाले गर्नेछ भनी टिप्पणी गरेका थिए । 

अमेरिका र उत्तर कोरियाको यो भनाई पछि शुक्रबार यता दक्षिण कोरियाको तर्फबाट पनि यस्तो भनाई सार्वजनिक भएको छ । यसैका आधारमा दक्षिण कोरियाले उत्तर कोरिया र अमेरिकाका बीचमा निःशस्त्रीकरणका बारेमा कुरा नमिलेको अनुमानसहितको यो धारणा राखेको हो । 

केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निःशस्त्रीकरणमा नजाने हो भने संयुक्तराज्य अमेरिकाले उसमाथि नाकाबन्दी लगाउने बताएका थिए । 

अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निःशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो । तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ । तैपनि आफूहरू सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो । सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभए पनि वार्ता भने सौहार्दपूर्ण नै भएको बताइएको थियो ।

हनोई वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिएका थिए । पहिलो चरणको वार्तामा निःशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोही बमोजिम काम गरिरहेको बताइरहेको भएपनि त्यसमा कुनै प्रगति हुन नसकेको अमेरिकी भनाई छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै