काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्रको विवाद बढ्दै गएपछि सभापति शेरबहादुर देउवाले असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल अगाडी बढाउदै छन् ।
पछिल्लो समय पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि देखिएको परिस्थितिलाई मिलाउन सभापति देउवा पौडेल निवास पुगेर छलफल गर्दै छन् ।
पौडेल पक्षले शुक्रबार प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा रहेका बेला शुक्रबार साँझ भेला गरेर महाधिवेशनलाई प्रमुख एजेन्डा बनाएर केन्द्रीय समितिमा छलफल हुनुपर्ने आफ्नो अडानमा कायम रहने निर्णय गरेको थियो ।
विहिबारको बैठकमा सभापति देउवाले पौडेल र सिटौला समुहको बहिष्कारका बाबजुत विभिन्न ९ प्रस्ताव प्रस्तुत गर्दै पेलेर अगाडी बढ्ने मनसाय बनाएपछि पौडेल इतरका समुह एकठाउमा आएका हुन् । शुक्रबार साँझको पौडेल पक्षको भेलाले महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय कार्यसमितिमा उपस्थित नहुने बटमलाइन बनाएको छ ।
भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, डा.मिनेन्द्र रिजाल, दिलेन्द्र बडू र हृदयराम थानीलगायत नेताहरु सहभागी थिए ।
अब आइतबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सभापति देउवा आफै लागिपरेका छन् ।