• २०८१ बैशाख १५ शनिबार

पिपिएलको इलिमिनेटरमा बुटवल र विराटनगर भिड्दै, को पुग्ला फाइनलमा ?

kharibot

काठमाडौँ । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को लिग चरणको खेल सकिएसँगै आज इलिमिनेटरको खेल हुदै छ । इलिमिनेटर खेलमा दोस्रो स्थानमा रहेको बुटवल ब्लाष्टर्स र तेस्रो स्थानमा रहेको विराटनगर टाइटन्सबीच आज  विहान साढे ११ बजेदेखि हुदै छ ।

लिग चरणमा बुटवलले ५ खेलमध्ये ३ खेलमा जित र २ हार बेहोर्दै ६ अंकसहित दोस्रो स्थानमा रहदै इलिमिनेटर खेल्न लागेको हो । त्यस्तै विराटनगरले भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेर नेटरनरेटका आधारमा समान ४ अंक भएका काठमाडौँ गोल्डेन्स र धनगढी ब्लूजलाई पछि पार्दै इलिमिनेटर खेल्न लागेको हो ।

अब इलिमिनेटरमा विराटनगरका लागि भारतीय खेलाडी पुनित मेहरा र नेपाली खेलाडी लोकेश बम प्रमुख खेलाडी हुने छन् । पुनितको अलराउन्ड प्रदर्शनले नै विराटनगर इलिमिनेटरसम्मको यात्रा तय गर्न सल्फ भएको छ । उनले अहिलेसम्म ५ खेलमा ४६.२५ को औसतले १८५ रन बनाएका छन् । त्यस्तै उनले ५ खेलमा ५ विकेट समेत लिएका छन् ।

त्यस्तै बलिङतर्फ विराटनगरका लागि पाकिस्तानी खेलाडी मुहमद जैद आलमको भूमिका प्रमुख हुने छ । जसले लिग चरणमा बुटवलविरुद्धको खेलमा ४ विकेट लिनुका साथै आक्रामक २४ रन समेत बनाएका थिए ।

विराटनगरका लागि कप्तान प्रदीप ऐरी, सुनिल धमला जस्ता खेलाडी फर्ममा आउनु जरुरी रहेको छ ।

त्यस्तै बुटवलले लिग चरणको अन्तिम खेलमा विराटनगरविरुद्ध खेलेको खेललाई बिर्सेर इलिमिनेटरमा खेल्नुपर्ने देखिन्छ । विराटनगरविरुद्ध सो खेलमा बुटवलले सबै क्षेत्रमा खराब प्रदर्शन गरेको थियो । हुनत यस खेलमा कप्तान सोमपाल कामीसहित केहि खेलाडीलाई आराम दिइएको थियो तर पनि कमजोर फिल्डिङ, बलिङ र ब्याटिंगले विराटनगरलाई इलिमिनेटरमा अवसर प्रदान गरेको देखिएको थियो ।

बुटवलका लागि प्रमुख बलर अविनाश बोहोरा नै हुन् । उनले अहिलेसम्म ५ खेलमा ७ विकेट लिएका छन् । त्यस्तै बुटवलबाट खेल्ने हर्ष टंकपनि यस खेलमा महत्वपूर्ण हुन सक्छन ।उनले विराटनगरविरुद्ध लिग चरणमा ६७ रनको आक्रामक पारी खेलेर बुटवललाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । 

बुटवलका लागि भीम सार्कीले यस सिजनमा अपेक्षा गरे अनुसार प्रदर्शन गर्न सकेका छैनन् । भीमले ५ खेलमा केवल ६२ रन बनाएका छन्, जुन उनको क्षमता भन्दा निकै कम हो ।

समग्रमा बुटवल र विराटनगर दुवै टिम बराबरीकै देखिन्छ भने चितवनसँग फाइनलमा को खेल्छ भन्ने अनुमान गर्न मुस्किल नै देखिएको छ । यी दुवै टिम मध्ये जुन टिम चितवनसँग गएपनि चितवनको अगाडी कमजोर नै देखिन्छन् । तर खेलमा खेलको दिन गर्ने प्रदर्शनले नै हार जित निर्धारण हुने हुनाले अहिले नै अनुमान भने गर्न सकिन्न ।

शनिबार हुने पोखरा प्रिमियर लिगको फाइनल खेलको विजेता टालीले रु २७ लाख पुरस्कार हात पार्नेछन् । उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ । प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् । 

प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै  मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् ।      
  
     
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै