• २०८१ बैशाख १६ आइतबार

पिपिएलको फाइनल आज, कसले जित्ला उपाधि ?

kharibot

काठमाडौँ । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को फाइनलमा आज बिहान ११:३० बजेदेखि चितवन राइनोज र विराटनगर टाइटान्स भिड्दै छन् । चितवन लिग चरणका सबै खेल जितेर अपराजित रहदै सिधै फाइनलमा पुगेको छ भने विराटनगर भने लिग चरणमा संघर्षपूर्ण यात्रा तय गर्दै इलिमिनेटर जितेर फाइनलमा पुगेको छ ।

लिग चरणमा केवल २ खेल जितेर तेस्रो स्थानमा रहदै इलिमिनेटर खेलेको विराटनगरले बुटवल ब्लाष्टर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रमुख खेलाडी :

सरसर्ती हेर्दा चितवन र विराटनगरका खेलाडीहरुको तुलना गर्न गाह्रो नै रहेको छ । कप्तान पारस खड्का, युएईका चर्चित खेलाडी रोहन मुस्तफा, हङकङका बाबर ह्यातका साथै भारतीय अलराउन्डर सन्नी पटेलजस्ता खेलाडीका कारण चितवन बलियो देखिन्छ ।

यस सिजनमा चितवनका लागि बाबर ह्यातले ५ खेलमा ४९.५० को औसतले १९८ रनको योगदान दिएका छन् । त्यस्तै रोहन मुस्तफाले ५ खेलमा ५२ रनको औसतले १५६ रनको योगदान दिएका छन् । त्यस्तै मुस्तफाले ५ खेलमा ८ विकेटसमेत लिएर ब्याटिंग बलिङ दुवैमा योगदान गरेका छन् । त्यस्तै कप्तान पारस खड्काले ५ खेलमा ३१.२५ को औसतले १२५ रन बनाएका छन् भने २ विकेटसमेत लिएका छन् । त्यस्तै सन्नी पटेलले ५ खेलमा सयरन बनाएका छन् भने ९ विकेटसमेत लिएका छन् । त्यस्तै चितवनबाट करण केसीले ५ खेलमा ११ विकेट लिदै अहिलेसम्म सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । 

त्यस्तै विराटनगरका प्रमुख खेलाडीको चर्चा गर्ने हो भने भारतीय खेलाडी पुनित मेहरा नै हुन् । उनले प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाएका छन् । पुनितले ६ खेलमा ४०.८० को औसतले २०४ रन बनाएका छन् । त्यस्तै पुनितले ६ खेलमा ८ विकेटसमेत लिएर विराटनगरलाई अलराउन्ड योगदान दिएका छन् ।

त्यस्तै विराटनगरका लागि सुनिल धमलाले १२३ रनको योगदान गरेका छन् भने लोकेश बमले ९६, कप्तान प्रदीप सिंह ऐरीले ९२, नोमान खानले ९० रनको योगदान गरेका छन् । त्यस्तै पाकिस्तानी खेलाडी मुहमद जैद आलमले विराटनगरका लागि ६ खेलमा ९ विकेट लिएका छन् । त्यस्तै किशोर महतोले पनि विराटनगरका लागि ९ विकेट लिएका छन् । विराटनगरका लागि फाइनल खेलमा प्रमुख हतियार स्पिनर शाहब आलम हुन सक्छन । आलमले अहिलेसम्म ६ खेलमा ८ विकेट लिएका छन् । 

यस अघि लिग चरणमा दुवैबीच भएको खेलमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो । चितवनले दिएको १४७ रनको लक्ष्य पछाएको विराटनगर १९ ओभर खेल्दै १२८ रन बनाएर अल आउट भएको थियो ।

कप्तानले के भने ?

पोखरा रङ्गशालामा आज फाइनल खेल अघिको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले आफ्नो तर्फबाट गल्ती कम गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए । दुवै टोली यस वर्षको पहिलो फ्रेञ्चाइज लिग क्रिकेटको उपाधि जितेर सुखद् शुरुआतको तयारीमा रहेका छन् ।

चितवनका कप्तान पारस खड्काले पाँच खेलमा हासिल गरेको सफलतालाई फाइनलमा समेत निरन्तरता दिने गरी स्पर्धामा उत्रिने लक्ष्य रहेको बताउए । “फाइनललाई सहज रुपमा लिएका छैनौँ, विगतमा के भयो कस्तो रिजल्ट आयोभन्दा पनि भोलि कसरी राम्रो गर्न सक्छौँ भन्नेमा हामी केन्द्रित छौँ ।” खड्काले भने ।

दुवै टोलीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको तथा एक÷अर्कालाई हराउन सक्षम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने खड्काले उल्लेख गरे । राष्ट्रिय टोलीका पूर्वकप्तान रहेका खड्काले विगतमा विदेशी खेलाडीको प्रभाव प्रतियोगितामा रहने गरे पनि यसपटक स्थानीय तथा विदेशी सबै खेलाडीले राम्रो गरिरहेको तथा स्थानीय खेलाडीको प्रदर्शन बढ्ता राम्रो रहनु देशका लागि शुभ सङ्केत भएको बताए ।

विराटनगरका कप्तान प्रदीप ऐरीले फाइनल खेल्ने टोली बलियो रहेको तथा आफ्नो टोलीले पछिल्ला खेलमा सुधार गरिरहेकाले मैदानमा गल्ती कम गर्दै उपाधि जित्ने गरी खेल्ने बताए ।

फ्रेञ्चाइज लिगको पहिलो फाइनल खेल्दै गरेकाले टोलीका सम्पूर्ण खेलाडी उत्साहित रहेको बताउँतै उनले भने, “मेरो कप्तानीमा पहिलो पटक फाइनल खेल्दा उत्साहित छु । गल्ती कम गर्दै उपाधि जित्ने गरी खेल्नेछौँ ।”

प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्वी लामाले प्राकृतिक वातावरणमा हिमश्रृङ्खलालाई साक्षी राखेर खेल्ने अवसर विश्वका अन्य मुलुकमा नरहेको बताउँदै क्रिकेट पूर्वाधार निर्माणका लागि राज्यले काम अघि बढाउनुपर्ने बताउछन् ।

आवश्यक पूर्वाधार निर्माण गर्न सकेको खण्डमा पोखराको रङ्गशाला ‘तटस्थ मैदान‘का रुपमा विकास हुने र अन्तर्राष्ट्रिस्तरका प्रतियोगिता यहाँ सञ्चालन हुने धेरै सम्भावना रहेको उनले औँल्याए । पीपीएलले क्रिकेटको जग बसाल्न सहयोग पुगेको चर्चा गर्दै लामाले गत वर्ष रु ४६ लाख खर्च गरेर तयार गरेको मैदानमा साग खेलकुदलगायतका प्रतियोगिता सम्भव भएकाले थप व्यवस्थित गर्न सरकारी निकायबाट लगानी हुनुपर्ने उल्लेख गरे ।  
 

अन्त्यमा,

अब फाइनल खेलको प्रेसर बेग्लै हुने हुदा टिमले अहिलेसम्मको खेल अनुसार फाइनलमा कस्तो खेल्छन भनेर अनुमान गर्न त गाह्रो हुन्छ । तर फाइटब्याक गरेर, बुटवललाई लगातार दुई खेलमा पराजित गर्दै फाइनलमा पुगेकाले चितवनले विराटनगरलाई हलुका रुपमा लिएमा त्यो हानिकारक हुनसक्छ । लोकेश बम, प्रदीप ऐरी, सुनिल धमला जस्ता विराटनगरका खेलाडीले आफ्नो क्षमता अनुसार खेलेमा र विदेशी खेलाडीको सहयोगमा विराटनगरले स्टार खेलाडीले भरिएको चितवनलाई कडा टक्कर दिन भने सक्छ ।

अनुभवी र स्टार खेलाडीको फाइदा चितवनलाई हुने देखिन्छ भने विराटनगर तुलनात्मक रुपमा त्यो तहका खेलाडी नरहेकाले रणनीति बनाउने कुरामा अलिकति कमजोर देखिन्छ । तर जसरी पछिल्ला दुई खेलमा विराटनगर खेलेको छ त्यो स्प्रिट कायम राखेमा चितवनलाई हराएर उपाधि जित्न सक्छ । त्यस्तै चितवनले भने आफ्नो विजयी मोमेन्टमलाई निरन्तरता दिन सहि रणनीति बनाएर उपाधि सजिलै जित्न सक्ने पनि देखिन्छ ।   

पुरस्कार :     

फाइनल खेलको विजेता टालीले २७ लाख पुरस्कार पाउने छन् भने उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगितामा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट गरि ६ टिम खेलेका छन् । 

प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै  मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् ।      
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै