• २०८१ बैशाख २० बिहीबार

सिसडोल ल्याण्डफिल्ड साइटको प्रभावका बिषयमा नास्टको प्रतिवेदन सार्वजनिक 

kharibot

ललितपुर । काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल सिसडोलमा फोहरका कारण स्थानीयवासीको स्वास्थ्य र यहाँको वातावरणमा नकारात्मक असर नदेखिएको पाइएको छ । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यस क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन र अनुसन्धान गरी सो क्षेत्रमा खासै समस्या नरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिकाले नास्टलाई दिएको जिम्मेवारीअनुसार नास्टले गत असोजदेखि दुई महिना लगाई सिसडोल क्षेत्रमा अध्ययन गरिएको प्रतिष्ठानले जनाएको छ ।

यहाँ बग्ने पानी र भूमिगत सतह, गन्धमापन, ग्यास, धुलोको कण, फोहरको लेदो लिचेत, आँखाले देखिने वा नदेखिने वस्तु, चराचुरुङ्गी, माछा, जनावर आदिको अध्ययन गरी यस क्षेत्रमा खासै समस्या नरहेको तथ्याङ्क सार्वजनिक गरेको हो । 

प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डा भोजराज पन्तले आफ्नो कार्यालयमा रहेको गन्धमापन यन्त्र(अल्फ्याक्टोमिटर) ले गरेको अध्ययनले सिसडोलमा रहेको फोहरका कारण उत्पन्न हुने ग्यासले स्थानीयमा खासै असर नगर्ने बताए । 

पन्तले भने, “सिसडोल फोहर विसर्जनस्थल नजिकैका मुख्य प्रभावित क्षेत्रमा खिल्बुचे, टिलकोरिया, तल्लो सिउडिनी, सिम्खडागाउँ, मगतेटोल–एक–दुई, पञ्चमुरीटोल, कोल्पुखोला–एक–दुई र सोवतीबालुवा र केही प्रभावित क्षेत्रमा भण्डारथुम्का, ढोकाभञ्ज्याङ, पाठकगाउँ, डि–गाउँ, क्षते–ए र –बि, शिवालय मावि सिउडिनी, तत्लोसिउडिनी–एक–दुई, कागतीगाउँ हुन अनि कम प्रभावित क्षेत्रमा कजुञ्जेगाउँ, स्वानागाउँ, हेल्थपोष्ट कागतीगाउँ, सिउडिनी ट्याङ्कीडाँडा रहे तापनि यहाँ खासै वातावरणीय प्रभाव परेको देखिएन ।” नास्टले सिसडोलको २४ स्थानबाट गन्धमापन गरेको कार्यक्रममा बताइएको छ । 

नास्टले सिसडोल क्षेत्रमा मिथेन र कार्बडाअक्साइडको मात्रा पाउन नसकेको पन्तले जानकारी दिए । सो क्षेत्रमा रहेको धुलोको कण मापदण्डभित्र नै रहेको नास्टले पाएको छ ।

सिसडोल फोहर व्यवस्थापन गर्नेस्थल थप चुस्त र दुरुस्त हुनुपर्ने, उपत्यकाबाट फोहर लैजाने क्रममा छोेपेर लानुपर्ने, पुनःप्रयोग गर्न मिल्ने फोहरलाई छुट्याउनुपर्ने, सिसडोल फोहर लाँदा खर्च हुने रकम र जनशक्तिको जोहो गर्नुपर्ने, सिसडोल फोहर विसर्जन गर्ने क्षेत्रभित्र मानिस र कुकुर सजिलै जान रोक गर्नुपर्ने, फोहरको लेदो लिचेतलाई फ्याँक्नुभन्दा अघि जाँचेर मात्र फाल्दा जलचरलगायत माटोमा प्रभाव नपर्ने नास्टले सुझाव दिएको छ । 

धुनीबेंसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले कामपाका प्रमुखले आफ्नो नगरपालिकाको मात्र फोहर व्यवस्थापनमा ध्यान दिएर अरु नगरपालिकाबाट उठ्ने फोहरमा आफूले वास्ता नगर्न आग्रह गरे । 

उनले भने, “सुहाना, चिउडेनीलगायतका क्षेत्रमा पनि चिल र गिद्धले दुःख दिएका, सो क्षेत्रमा रहेको एक हजार ७८१ रोपनी जमिन कति फोहर विसर्जन गर्न प्रयोग भएको र कति प्रयोग नभएको, बाली लगाउँदा बोट अग्लो हुने तर दाना नलाग्ने, सिसडोलको पानी खाँदा गाईगोरु मर्ने, स्थानीय मानिसले सो क्षेत्रमा बग्ने पानीले हातगोडा धुँदा लुतो र खटेर आउने, मिर्गौला र अर्बुदका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।” नास्टले कहिले गएर सो अध्ययन गर्यो आफूहरु बेखबर रहेको जानकारी दिए । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्ले धुनबेंसी र ककनीसहित सबै नगरपालिका प्रमुख मिलेर सो क्षेत्रका बारेमा विशेष छलफल गर्ने विश्वास दिलाए । सिसडोल बञ्चेरेडाँडो सरोकार समितिका अध्यक्ष विश्वास डिसीले ककनी–१ मा गन्ध आएन, यस क्षेत्रको पानीमा न्यून प्रभाव रहेको छ भन्ने कुरा एकदमै गलत रहेको औँल्याए । उनले भने, “प्रत्येक घण्टाको आधारमा प्रतिवेदन तयार गरी सार्वजनिक गरेमा त्यहाँको वास्तविकता भेटिने थियो ।” 

यसैगरी सिसडोलका स्थानीयवासी श्रीराम ढुङ्गानाले किमो थेरापीमा प्रयोग हुने झोल, सल्फर एसिड, तेजाब, मिती नाघेके औषधि, मरेका जनावर, बढी भएको खानेकुरा, उद्योगबाट निस्कने फोहरमैला आदिले सिसडोलमा निकै वातावरण प्रभाव पारिरहेको बताए । नास्टका सचिव महेशकुमार अधिकारीले नास्ट र कामपा मिली समयसमयमा थप योजना बनाएर अघि बढ्ने विश्वास दिलाए ।

यस अघिका कागजपत्र तथा फोहोर व्यवस्थापन अभ्यास हेरेर तथा स्थानीयसँग छलफल र परामर्श गरेर बैज्ञानिक तथ्य बिश्लेषण गर्नुपर्ने महानगरसँगको शर्तका आधारमा प्रतिष्ठानले अध्ययन गरेको थियो । अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु¥याएको असर, ल्याण्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्याण्डफिल्ड साइटबाट निष्कासन भएको ग्याँसको अवस्था, साइटबाट उत्पन्न हुने धुलनशील धुलोको कणको अवस्था र यिनीहरुले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता बिषय समेटिएका थिए ।

यसका लागि लिचेड निष्कासन हुने १ ठाउँबाट लिचेडको, कोल्पु खोला १ ठाउँबाट भूमिगत र ४ ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो । त्यस्तै ल्याण्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ वटा ठाउँबाट ग्याँस, ककनी गाउँपालिका वडा १ र २ का एक—एक वटा ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो ।

मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्याण्डफिल्ड साइटको माथिल्लो भाग), सोतिबालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङ् जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंम्खडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी ४ वटा ठाउँ र काठमाडौको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ ।

यसै गरी ककनीका ८ वटा र धुनिबेँसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । जसमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ्, चाउथी ए र बि, कागती गाउँ, शिवालय माध्यमिक बिद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिका अन्तर्गत पाठक गाउँ, डिगाउँ गरी २ वटा ठाउँ छन् ।

ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्याङ्की डाँडा गरी २ ठाउँ र धुनिबेँसीको स्वना गाउँ र कटुञ्जे गाउँ गरी २ वटा ठाउँ गरी ४ ठाउँ कम प्रभावित ठाउँमा परेका छन् ।

अध्ययनका लागि नास्टका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो । नास्टकै बरिष्ट बैज्ञानिक अधिकृत डा. भोजराज पन्त सदस्य सचिव रहनुभएको समितिको सदस्यमा नाष्टका बैज्ञानिक डा. दीपाश्री रावल र जयश्री सिजापति थिए भने वातावरणबिज्ञ ईञ्जिनियर सूर्यमान शाक्य र महानगरका इञ्जिनियर सरकारदीप श्रेष्ठ सदस्य थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै