• २०८१ बैशाख १९ बुधबार

इपिएल खेल्न अमला, गेल र प्लङकेट आउने चर्चा, के भन्छन् आयोजक ?

kharibot

काठमाडौं । आगामी मार्चमा हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) को आउदो संस्करणमा विदेशी खेलाडीका लागि नयाँ नियम विहिवार सार्वजनिक भएसँगै अब अन्तर्राष्ट्रिय क्रिकेटमा ठुला ठुला नाम नेपाल आउने चर्चा शुरु भएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाका पुर्व कप्तान हसिम अमला नेपाल आउने मिडिया रिपोर्ट सार्वजनिक भएको छ । मिडियामा यस खालका समाचार आउन थालेपछि हामीले इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरलाई को को आउदै छन् भनेर जिज्ञासा राखेका थियौ ।

प्रबन्ध निर्देशक अख्तरले खरीबोटसँग कुरा गर्दै विश्व क्रिकेटका ठुला नाम इपिएल खेलुन भनेर नै आफुहरुले यस पटक नियम परिवर्तन गरेको स्पष्ट गरे । उनले हसिम अमलाको विषयमा सकारात्मक कुरा भएको भएपनि कुन फ़्रेन्चाइजीबाट खेल्ने भन्ने बारे अझै टुंगो लागि नसकेको बताए । उनले भने, 'हामीले राखेको प्रस्तावमा उनी सकारात्मक छन् तर कुराको टुंगो लागि सकेको छैन ।'

खरीबोटसँगको कुराकानीमा अख्तरले वेस्टइन्डिजका क्रिस गेल, ड्वाने ब्राभो, डरेन सामी, इङल्याण्डका लियाम प्लङकेट जस्ता खेलाडीहरुसँग इपिएल खेल्ने विषयमा कुराकानी भइरहेको बताए । यी खेलाडीहरुले इपिएल खेल्न चासो दिएको र दुई चार दिनमा धेरै खेलाडीको बारेमा टुंगो लाग्ने र सम्बन्धित फ़्रेन्चाइजीले नै जानकारी दिने उनले बताए ।

आयोजकले यस इपिएलमा २०१८ देखि २०२० को इपिएल सिजनसम्म नेपालका अन्य लिग खेलेका खेलाडीलाई खेल्न नपाउने नियम बनाएको छ । यस नियमले हालै सम्पन्न पिपिएल खेलेका भारतीय र अन्य विदेशी खेलाडी इपिएल खेल्न नपाउने भएका छन् ।

आयोजकले विदेशी खेलाडी नेपालमा लिग खेल्दा इपिएलमात्र खेल्नुपर्ने नियम बनाएका हुन् । यसबाट हालै सम्पन्न पिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका रोहन मुस्तफा, सन्नी पटेल, पुनित मेहरा, बाबर ह्यातजस्ता खेलाडी इपिएलमा नदेखिने भएका छन् ।
         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै