• २०८१ बैशाख २९ शनिबार

रुकुमपूर्वको भूमेमा बहुप्राविधिक शिक्षालय स्थापना हुने

kharibot

रुकुमपूर्व । रुकुमपूर्वमा प्रदेशकै प्रतिष्ठित बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । भूमे गाउँपलिका–१ रुकुमको सिद्धचौर माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो । 

शिक्षालय स्थापनाको लागि प्रारम्भिक अध्ययन भइसकेको छ । प्रारम्भिक अध्ययनको लागि प्रदेशसभा सदस्य तेजबहादुर ओलीसहित शिक्षा तथा सामाजिक निर्देशनालय प्रदेश नं– ५ का शिक्षा निर्देशक मनोजकुमार गैरे, निर्देशनालयका लेखा अधिकृत सुरजकुमार चँदारा लगायतको टोली आएर फर्किएको छ ।

शिक्षालय स्थापना गर्न सिद्धचौर माविले आफ्नो भोगाधिकारको २४ रोपनी जग्गा प्रदेश नं–५ को शिक्षा निर्देशनालयलाई उपलब्ध गराइसकेको छ । शिक्षालय स्थापना गर्न ३५ रोपनी जग्गा आवश्यक पर्छ । 

तत्कालको लागि २४ रोपनी जग्गा उपलब्ध गराएको र बाँकी ११ रोपनी जग्गाको खोजी भइरहेकाले छिट्टै उपलब्ध गराउने जनाइएको छ । 

यस आर्थिक वर्षमा प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को लागि रु एक करोड बजेट छुट्याएको प्रदेशसभा सदस्य ओलीले बताए । रु एक करोड बजेटले डिपिआर गर्ने र कामको थालनी गरिने उनले बताए । आगामी फागुनको दोस्रो साताबाट डिपिआरको काम शुरु गरिने पनि उनले बताए । 

आवश्यक बजेट क्रमागत रुपमा छुट्याउँदै जाने र अर्को वर्षबाट भवन निर्माण गर्न बोलपत्र आह्वानको प्रक्रियालाई अगाडि बढाउने बताइएको छ ।   

भौतिक पूर्वाधार निर्माणको काम पश्चात उक्त बहुप्राविधिक शिक्षालयमा कस्ता पाठ्यक्रम राखेर पठनपाठन सञ्चालन गर्ने, कति विषयलाई समावेश गर्ने भन्ने विषयमा प्रदेश सरकारले छलफल गरिरहेको प्रदेश सरकारले बताएको छ । नयाँ बन्न लागेको बहुप्राविधिक शिक्षालयमा विद्यार्थीले छात्रावाससहितको सेवासुविधा पाउनेछन् । पढ्नको लागि प्रदेश राजधानी वा काठमाडाँैलगायतका ठूला शहर धाउनुपर्ने बाध्यताको अन्त्य हुने जिल्लावासीले बताएका छन् । 

रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र बागलुङलगायत आसपासका क्षेत्रलाई मध्यनजर गरेर रुकुमपूर्वमा उक्त शिक्षालय स्थापना गर्ने निर्णय भएको बताइएको छ । प्रदेश नं– ५ को एकमात्र हिमाली र दुर्गम भनेर चिनिने रुकुमपूर्वको उक्त क्षेत्रलाई मध्यपहाडी लोकमार्गले छोएको र शहीदमार्गको नजिकै पर्ने भएको हुनाले समग्र विकासको लागि सो ठाउँ छनोट गरिएको प्रदेशसभा सदस्य ओलीले बताए ।  

“भूमे–१ रुकुममा प्रदेशको उत्कृष्ट बहुप्राविधिक शिक्षालय स्थापना भएपछि धेरै विषय एकै ठाउँमा पठनपाठन हुने र यहाँका विद्यार्थीले आफूले पढ्न चाहेको विषय पढ्न पाउने वातावरण सिर्जना हुने छ”, प्रदेशसभा सदस्य ओलीले भने,“जसले गर्दा यहाँको शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा क्षेत्रको विस्तार, दक्षजनशक्ति उत्पादन हुने र जिल्लाको समग्र विकासमा टेवा पुग्ने छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै