• २०८१ जेठ ५ शनिबार

पर्यटकको आकर्षण बन्दै सामूहिक आलुखेती

kharibot

तस्वीर : रासस

रामपुर । रामपुर नगरपालिकालाई आलुबाट आत्मनिर्भर बनाउन समूह मार्फत लगाइएको आलुखेतीले पर्यटक लोभ्याएको छ। एक वडा एक उत्पादन कार्यक्रम मार्फत वडा नं ६ लाई आलु पकेट क्षेत्रका रुपमा छुट्टाएर आलुखेतीमा जोड दिइएको छ।

यहाँ समूह मार्फत लगाइएको आलुखेती अहिले आन्तरिक पर्यटकको रोजाई बनेको छ। अहिले रामपुर आउने आन्तरिक पर्यटक आलुखेती अवलोकन गरेर मात्र फर्कने गरेका छन्। यहाँको आलुखेतीले चर्चा पाउन थालेपछि स्याङ्जा, तनहुँ, नवलपुर लगायतका विभिन्न स्थानबाट आलु हेर्न आउने आन्तरिक पर्यटकको चहलपहल रहेको नदी किनारा आयआर्जन कृषक समूहका सचिव सीता देवकोटा बताउछन्।

“दिनहुँ विभिन्न सङ्घसंस्था, समूह, व्यक्ति आलु अवलोकन गर्न आइरहनुभएको छ, आलु खेतमा पर्यटकको चहलपहल छ, समूहका एक/दुई जना सदस्यहरु खेतमै बसेर पर्यटकलाई आलुखेतीबारे जानकारी गराइरहेका छौँ” उनले भने।

नदी किनारा आयआर्जन महिला कृषक समूहले यसवर्ष नौ रोपनीमा पाँच क्विण्टल आलु लगाएको छ। गतवर्ष सात रोपनीमा लगाएको आलुले राम्रो उत्पादन भएपछि यो वर्ष व्यवसाय बढाएको अध्यक्ष भगवती देवकोटा बताउछन्।

वडा कार्यालयको बीउ अनुदान र विजयपुर कृषि सहकारीको समन्वयमा यहाँका कृषकले आलु लगाएका हुन्। आलु लगाउने प्रविधि सम्बन्धी खेतमै प्राविधिक सुविधा पाएपछि आलु फस्टाउँदै गएको छ। कृषकलाई खेतबारीमै पुगेर आलु लगाउने, गोडमेल, मलबीउको प्रयोग सिँचाइ गर्ने तरिकाबारे जानकारी दिने गरेको कृषि शाखा कार्यालय रामपुरका प्रमुख रामहरि पाण्डेयले बताए।

वडा कार्यालयले यसवर्ष आलु महोत्सव गर्न आलुखेतीलाई प्रवद्र्धन गर्दै कृषकको मागको आधारमा १५० रोपनी क्षेत्रफलमा करिब ६० क्वीण्टल आलुको बीउ अनुदानमा वितरण गरेको वडाध्यक्ष न्यौपानेले बताए। कृषकले उत्पादन गरेका आलुले बजार नपाएमा शीत भण्डारमा राख्ने व्यवस्था वडा कार्यालयले नै गर्ने अध्यक्ष न्यौपानेको भनाइ छ।

रामपुरमा समूहमा लगाइएको आलुले पर्यटक तानिरहेको र कृषकको आलुखेतीमा उत्साह बढ्दै गएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यप्रसाद रेग्मी बताउछन्। यसवर्ष वडा कार्यालयको सहयोगमा १० समूह र ६८ जना कृषकले आलुखेती गरेका छन्।

उन्नत जातको बीउ, प्राविधिक सेवा राम्रो पाएपछि सोचेभन्दा आलु राम्रो हुँदै गएको कँडेलबारी कृषक समूहका अध्यक्ष सीता भण्डारीले बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै