• २०८१ बैशाख २५ मंगलबार

खाद्य संस्थानमा चामलको माग बढ्दो

kharibot

फाइल तस्वीर

पोखरा । बन्दाबन्दीसँगै बजारमा खाद्यान्नको सहज आपूर्ति नभएको अवस्थामा नेपाल खाद्य संस्थान गण्डकी अञ्चल कार्यालय पोखरामा सर्वसाधारणको चाप बढेको छ ।

लकडाउनले बजारमा सहजताका साथ चामल पाउन नसकिएको अवस्थामा तीन दिनको अन्तरालमा मात्रै यहाँको कार्यालयबाट ७३० क्विन्टल चामल बिक्री भएको छ । सर्वसाधारणको समस्यालाई दृष्टिगत गर्दै वैशाख ७ गते सार्वजनिक सूचना जारी गरिएको जानकारी दिँदै अञ्चल कार्यालय पोखराका प्रमुख भोजराज पाण्डेले पछिल्लो तीन दिनमा चामल लिन आउनेहरुको भीड लागेको बताए । “पछिल्ला दिन चामल खरिद गर्न आउने भीडलाई व्यवस्थित गर्न पनि धौधौ भएको छ”, उनले भने, “संस्थानले विगतमा बिक्री गर्दै आएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा बिक्री गर्दै आएको छ ।”

बन्दाबन्दीका कारण समस्याका परेका व्यक्ति तथा परिवारलाई राहतस्वरुप संस्थानले विगतमा बिक्री गर्दै आएको मूल्यमा १० प्रतिशत  छुटमा चामल बिक्री गरेको उनले जानकारी गराए । उनका अनुसार चैत महिनाको २८ गते सूचना जारी गरी वैशाख ७ गतेदेखि बिक्री वितरण गरे पनि १० गतेदेखि मात्र सर्वसाधारणको भीड लाग्ने गरेको हो । यस अवधिमा ४५० क्विन्टल जापानी चामल र २८० क्विन्टल  सोना मनसुली चामल बिक्री भइसकेको छ ।

संस्थानले १० प्रतिशत राहत दिएसँगै जापानिज चामल प्रतिकेजी ४२ रुपैयाँ ३० पैसा र सोना मनसुली प्रतिकेजी ४१ रुपैयाँ ८५ पैसाका दरले बिक्री गरिएको उल्लेख गर्दै उनले भने, “यसअघि जापानी रु ४७ र सोना मनसुली चामल ४६ रुपैयाँ ५० पैसाका दरले बिक्री हुँदै आएको थियो ।”

दिनप्रतिदिन चामल खरिद गर्ने सर्वसाधारणको सङ्ख्यामा वृद्धि हुँदै आएको बताउँदै उहाँले प्रतिव्यक्ति ३० केजीको एक। एक बोराका दरले बिक्री वितरण गरिएको बताए । खाद्य संस्थानले विशेषगरी कारागारका कैदीबन्दीका लागि आवश्यक चामल उपलब्ध गराउँदै आएको बताउँदै प्रमुख पाण्डेले भने, “गण्डकी प्रदेशका नवलपुर र बागलुङबाहेक संस्थानले नौ जिल्ला कारागारमा चामल पुर्याउँदै आएको छ ।”

प्रदेशका हिमालपारिका जिल्लाको रूपमा परिचित मुस्ताङमा ३०० र मनाङ जिल्लामा २०० केजी जापानिज चामल मौज्दात रहेको बताउँदै उनले बागलुङ जिल्ला कारागारले भने आन्तरिकरूपमै व्यवस्थापन गर्दै आएको जानकारी दिए । संस्थानका सूचना अधिकारी भगवान् भण्डारीका अनुसार जापानी चामल प्रतिबोरा एक हजार २६९ र सोना मनसुली एक हजार २५५ रुपैयाँ ५० पैसाका दरले बिक्री गरिँदै आएको छ ।
  
बिक्रीका लागि बिहान ११ देखि दिउँसो २:३० बजेसम्मको समय निर्धारण गरिएको बताउँदै उहाँले जापानिज चामल शुक्रबारदेखि सकिएको छ भने ६०० क्विन्टल सोना मनसुली चामल अहिले पनि खाद्यको गोदामा मौज्दात रहेको बताए ।

मुलुकमा भएको एकमहिने लकडाउनसँगै बजारभाउ वृद्धि हुनु र आवश्यकतानुसार पसल समेत नखुल्दा खाद्यान्न अभावका कारण खाद्य संस्थानले वितरण गरेको चामल खरिद गर्न लाइनमा बसेका सर्वसाधारणको सामूहिक धारणा रहेको छ ।

भीडभाड बढ्नुको साथै कोरोना भाइरस सङ्क्रमण बढ्ने डर र चर्को घाममा लाइनमा बस्न बाध्य भएका सर्वसाधारले एउटै स्वरमा भने सतर्कता र जनतालाई सुविधा दिन टोकनको व्यवस्था गरिदिएको भए सहयोग हुने थियो । सो स्थानमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले बारम्बार सामाजिक दूरी कायम गर्न पहल गर्दै आएका छन् । 

संस्थानले अर्को सूचना प्रकाशित नगरेसम्म आजैका मितिदेखि चामल बिक्री नगर्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै