• २०८१ बैशाख १५ शनिबार

केपी शर्मा ओली : रणनीतिकरुपमा सफल, तर नैतिक संकटमा !

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बढ्दै गएपछि अब प्रधानमन्त्री केपी शर्मा ओलीको आउदा दिन सहज देखिएका छैनन् । मंगलबारको घटनाक्रमले अब प्रधानमन्त्री ओलीमाथि नैतिक दबाब बढ्ने देखिएको छ ।

मंगलबारको स्थायी कमिटी बैठक एकतर्फी रुपमा स्थगित गरेपनि २९ जना उपस्थित बैठकले ओलीको बैठक स्थगित गर्ने कदम गलत भएको निष्कर्ष निकालेको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई अध्यक्षको मर्ममा चोट पुर्याएको प्रतिक्रिया दिदै विभाजनउन्मुख देखिएको पार्टीको एकता बचाउन प्रयास जारी राख्ने बताएका थिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णय बारे जानकारी दिदै भने -  'पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना जारी गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखि अर्का अध्यक्ष ओलीलाई छलफल गरि बैठक सुचारु गर्न पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसको साथै आजको बैठकमा पार्टी एकता रक्षा गर्न, पार्टीलाई विधिसम्मत संचालन गर्न र पार्टीको वर्तमान संकटलाई सकरात्मक रुपमा निकास दिन निकास दिन योगदान पुर्याउन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आआफ्नो पहल गर्न आग्रह गर्यो ।'

वामदेवको प्रस्तावले ल्यायो तरंग : 

उपाध्यक्ष वामदेव गौतमले पार्टीको विवाद मिलाउन ६ बुँदे प्रस्ताव राखेका छन् ।

यो प्रस्ताव मंगलबार दिनभरनै चर्चाको विषय बन्यो । धेरैले नेता गौतम फेरी ओली समुहमा गएको विश्लेषण गरे । यस विश्लेषणलाई मंगलबार साँझ प्रधानमन्त्री पत्नी राधिकासहित गौतम निवासमा पुगेपछि थप बल दिएको छ । गौतमले प्रस्ताव गरेको ६ बुँदे प्रस्ताव गत मङ्सिर २ गते प्रचण्ड-ओलीबीच भएको सहमति मै आधारित रहेकाले प्रधानमन्त्री ओली यसमा सकारात्मक भएको बताइएको छ ।

उपाध्यक्ष गौतमले केपी शर्मा ओलीलाई बाँकी कार्यकाल प्रधानमन्त्री रहन  दिने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि कायमै रहने गरी सहमतिको प्रस्ताव पेश गरेका हुन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्ताव मंगलवार सार्वजनिक गर्दै गौतमले अहिले ओलीको राजीनामा माग गर्न नहुने उल्लेख गरेका छन् ।

गौतमको प्रस्तावमा ‘प्रधानमन्त्रीका दैनिक कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।’भन्ने उल्लेख गरिएको छ ।

त्यस्तै उनले पार्टीको महाधिवेशन नहुञ्जेल प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रहने प्रस्ताव गरेका छन् । 

यसअघि प्रचण्ड-माधवकुमार नेपाल समूहमा रहेको विश्वास गरिएका गौतमले अहिले आफु कुनै गुटमा नरहेको संकेत दिदै यस्तो प्रस्ताव गरेका छन् ।

उपाध्यक्ष गौतमले पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन गर्न समेत प्रस्ताव गरेका छन् ।

साथै उपाध्यक्ष गौतमले अबदेखि पार्टीका बैठकहरू केन्द्रीय कार्यालयमै बस्नुपर्ने प्रस्ताव रहेको छ ।​  

गौतम निवास भैसेपाटीमा प्रधानमन्त्री ओली :

पार्टीको विवाद बढिरहेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमको निवासमा गएर छलफल गरेको विषयले तरंगित भएको छ । 

करिब २ घण्टा गौतम निवास भैंसेपाटीमा बिताएका प्रधानमन्त्री ओलीको यस भेटघाटलाई गौतम पक्षबाट पारिवारिक भेट भनिएको छ । 

गौतमक प्रेस सहयोगी विश्वमणि सुवेदीले भनेका ह्चन - 'प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज उपाध्यक्ष क. वामदेव गौतमको भैसेपाटी स्थित निवासमा बिल्कुल पारिवारिक भेटघाटका क्रममा पुग्नुभएको हो । उक्त भेटमा दुबै तर्फबाट जम्मा ३० जनाको उपस्थिति थियो । यसबाहेक उक्त भेटघाटको कुनै राजनीतिक अर्थ र अभिप्राय थिएन । केही समसामयिक विषयमा अनौपचारिक कुरा भए पनि भेटको उद्देश राजनीतिक होइन । प्रधानमन्त्रीले आफू नख्खु पुगेपछि मात्र क. वामदेवलाई आफू आउँदै गरेको जानकारी दिनुभएको थियो ।'

मंगलबार दिनभर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बालुवाटारमै घेराबन्दी गरेपछि ओली वामदेवलाई भेट्न साँझ ७ बजे भैंसेपाटी पुगेका थिए। त्यहाँ करिब २ घण्टासम्मको संवादपछि ओली करिब ९ बजे तिर बालुवाटार फर्किएका हुन् । सो भेटमा पार्टी महासचिव विष्णु पौडेलक ओसमेत उपस्थिति रहेको थियो । 

नेता गौतमले मंगलबार नै पार्टीको विवाद मिलाउने भन्दै प्रस्ताव गरेको ६ बुँदे प्रस्ताव दिनभरनै चर्चाको विषय बनेको छ । गौतमले प्रधानमन्त्री ओलीकै लाइनमा प्रस्ताव गरेपछि गौतम फेरी प्रधानमन्त्री ओलीको कित्तामा गएको विश्लेषण भइरहेको छ । यद्यपी आजै बालुवाटारमा भएको स्थायी कमिटी बैठकमा नेता गौतम प्रधानमन्त्री ओलीको विपक्षमा बोलेको बताइएको छ । 

योगेशको दर्द : 

दुई अध्यक्षबीच कुरा नमिलेर पार्टी फुट्ने अवस्थामा पुगेको भन्दै युवा नेता योगेश भट्टराईले चिन्ता व्यक्त गरे ।

पर्यटनमन्त्री समेत रहेका नेता भट्टराईले पार्टीको वर्तमान स्थितिलाई लक्षित गर्दै अवस्था दुर्घटनातर्फ उन्मुख भएको बताएका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै उनले सबैलाई अब रोकिनुपर्ने सुझाव पनि दिए ।

मंगलबार नेता भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।’

टिप्पणी : नैतिक संकटमा ओली

प्रधानमन्त्री ओलीले अहिले चलेका हरेक कदम उनको पक्षमा देखिएको त छ । तर पार्टी सिस्टममा उनको कदम सधै सहि र सफल हुने देखिदैन । पार्टी सिस्टममा जति हुदैन भने पनि अन्तिममा बहुमत अल्पमत कै खेल हुने गर्दछ । होइन भने किन महाधिवेशन गर्नु पर्यो, किन विभिन्न कमिटी गठन गरेर छलफल गर्नु नै पर्यो ।

मंगलबारको स्थायी कमिटी बैठकको उपस्थिति हेर्दा पनि उनी अल्पमतमा रहेको प्रष्ट देखिन्छ । यस्तै अवस्था केन्द्रीय कमिटी बैठकमा समेत रहेको छ । अझ कम्युनिष्ट पार्टीमा त अहिलेसम्म चलेकै अभ्यास बहुमत अल्पमतको हो ।

अहिलेको अवस्थामा नेकपा पार्टी एकीकरणपछि संक्रमणकालमा भएकाले यो लागु हुदैन भनेपनि ओली बहुसंख्यकलाई बाहिर राखेर लामो समय टिक्न सक्छन जस्तो देखिदैन ।

पार्टी भित्रको यो विवादको असर दैनिक सरकार संचालनमा देखिई सकेको छ । लगभग नियन्त्रणको दिशामा गएको कोरोना फेरी महामारीको संकेत गरिसकेको छ । सरकारका अन्य काम त भद्रगोल कै अवस्थामा रहेका छन् । शिर्ष नेतृत्व नै सत्ता जोगाउन र विवादको बीचमा भएकाले त्यसको असर समग्रमा देखिनु स्वाभाविकै हो ।

अहिलेकै अवस्था लम्बिरहेपनि उनको सार्वजनिक छबि झन् नराम्रो हुने देखिन्छ । उनलाई पार्टीको विधि नियम नमानेकोमा नैतिक रुपमा संकट अब शुरु भएको छ । उनी अहिले रणनीतिक रुपमा सफल देखिएपनि यसले अल्पकालमा सत्ता जोगिने, पावर रहिरहने भएपनि अन्तत: यसले  व्यक्तिगत रुपमा उनको साख अझ तल झर्ने देखिन्छ भने पार्टी र देश दुवैलाई थप अन्योलता र अप्ठ्यारोतर्फ लैजाने देखिन्छ । यसर्थ यथाशिघ्र पार्टीको विवाद मिलाएर अगाडी बढ्नु नै उत्तम विकल्प देखिन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै