• २०८१ बैशाख १६ आइतबार

सज्जा चौलागाईं बनिन् तेस्रो नेपाल आइडल

kharibot

काठमाडौँ । तेस्रो नेपाल आइडलको उपाधि सज्जा चौलागाईंले जितेकी छन् ।

शुक्रबार सम्पन्न गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा चौलागाईंलाई विजेता घोषणा गरिएको छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो ।

प्रतिस्पर्धाको ग्रान्ड फिनालेना सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए ।

विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । त्यस्तै फस्ट रनरअप प्रवीण बेडुवालले १० लाख र सेकेन्ड रनरअप किरणकुमार भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन् ।

सज्जा नेपाल आइडलको उपाधि जित्ने पहिलो महिला गायक हुन् । 

यसअघि बुद्ध लामा पहिलो र रवि ओडले दोस्रो सिजनको उपाधि जितेका छन् ।

कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

को हुन् विजेता सज्जा चौलागाईं ?

मोरङ पथरीकी सज्जा चौलागार्इं नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी हुन् । नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायलले सबैलाई प्रभावित पारेकी छन् ।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो । पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन् । ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन् ।

गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै