• २०८१ बैशाख १५ शनिबार

काठमाडौंलाई मागी खानेको सहरका रुपमा चित्रित गरियो -मेयर विद्यासुन्दर शाक्य

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका कुनै पनि खुल्ला र सार्वजनिक स्थलमा निःशुल्क भोज खुवाउने काम नगर्न आग्रह गरेको छ ।

आज राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन आयोजना गरेर मेयर विद्यासुन्दर शाक्यले भने — ‘खाना खुवाएको तस्विर र भिडियो सामाजिक सञ्जाल राखेर मानवीय संवेदनामा खेलवाड भएकोप्रति हाम्रो चिन्ता र चासो हो । खाना खुवाउने गरेको प्रचारबाट काठमाडौं मागी खानेको सहरका रुपमा चित्रित हुने कुराले हामीलाई चिन्तित बनाएको छ । काठमाडौंलाई मागी खानेको सहर होइन, गरि खानेको स्वाभिमानी सहरका रुपमा चिनाउनुपर्छ ।’

‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने काठमाडौँ महानगरपालिकाको नीति नै हो । यसका लागि हामीले नगर कार्यपालिकाको बैठकबाट जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ नै स्वीकृत गरेका छौं । यस कार्यबिधिले खान नपुग्ने जोकोहीलाई पनि काम र त्यसवापतको पारिश्रमिक दिन सकिन्छ ।काम आवश्यक पर्नेले वडा कार्यालयमा सम्पर्क गरे सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण जस्ता क्षेत्रमा काम दिन्छौं । मागेर खान पर्दैन, स्वामिमानपूर्वक श्रम गरेको पैसाले जीवन निर्वाह हुन्छ ।’

मेयर शाक्यले थप्दै भने — ‘ हामीले बन्दाबन्दी (लकडाउन) अवधिमा वडामार्फत बेरोजगार, अशक्त र असहाय बर्गका १ लाख ५० हजार भन्दा बढी परिवारलाई राहत स्वरुप खाद्य सामाग्री र २ लाख ५० हजार

व्यक्तिलाई खाना पकाएर खुवाउने काम गर्यौं । महामारी अझै कायमै छ । यस अवस्थामा हामी महानगरपालिका क्षेत्रभित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको सामथ्र्य र सीपका आधारमा रोजगारी दिन तयार छौं ।

हामीले दिएको पारिश्रमिकले जीवन निर्वाह हुन्छ ।’ उनले अशक्त र काम गर्न नसक्नेहरुको व्यवस्थापनको प्रसङ्ग जोड्दै भने — ‘विरामी, असक्त र वेसहाराको संरक्षणका लागि हामीले मानव सेवा आश्रमसँग सहकार्य गरेर त्यस बर्गका मानिसहरुको उद्धार, औषधोपचार र लालनपालन गरिरहेका छौं । यसबाट कतिपय व्यक्तिहरु परिवारसँग पुनर्मिलन पनि भइसक्नुभएको छ ।’

‘समस्यामा परेका श्रमिक, गरीब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि गरेको कामको प्रशंशा गर्न चाहन्छु । महानगरसँग समन्वय नहुँदा यस प्रकारका काममा विकृति मौलाएको छ । नराम्रो काम गर्नेका कारण पबित्र सेवा गर्ने पनि बदनाम भएका छन् । यसकारण म दाता र सहयोगी स्वयम्सेवकप्रति समन्वय गरेर मात्र काम गर्न विनयपूर्वक आग्रह गर्न चाहन्छु ।’ मेयर शाक्यले महानगर जनताप्रति जिम्मेवार र उत्तरदायी रहेको बताउँदै भने — ‘यो राजनीति भन्दा माथिको बिषय हो । यसमा राजनीति नगरौं । यस्ता महत्वपूर्ण काममा व्यक्तिगत स्वार्थ सिद्ध हुने विकृतपूर्ण काम रोकौं । त्यसका लागि अहिले जसले खुलामञ्चमा खाना खुवाइरहनुभएको छ । उहाँहरुलाई पार्टी प्यालेसलगायतका ठाउँमा खाना खुवाउने व्यवस्था गर्न अनुरोध गर्दछु । यसो गर्दा पार्टी प्यालेसको भाडा व्यहोर्न महानगर तयार छ ।’

अब तपाईहरु खुल्ला मञ्चमा भेला हुन र खाना खाने खुवाउने काम रोक्नुहुन्छ त ? पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने — ‘हामी सरकार हौं । जिम्मेवार छौं । मुठभेड गर्ने गराउने हाम्रो आशय होइन । जसले खाना खुवाउने काम गरिरहनुभएको छ । हामी उहाँहरुलाई सम्झाउने प्रयास गर्छौ ।'

'विषयलाई जसले जसरी प्रकट गरे पनि, समर्थन वा विरोधमा मत राखे पनि, सबैको चाहना कोही भोकै नपरुन् भन्ने नै हो । यसमा महानगरको फरक मत छैन । पार्टी प्यालेसको उपयोग गरौं । खानाको व्यवस्था दाता गरिरहनु भएको छ भने प्यालेसको भाडा हामी तिरिदिन्छौं ।' मेयर शाक्यले भने ।

सम्मेलनमा वडाध्यक्षहरुकातर्फबाट धारणा राख्दै वडा ३ का अध्यक्ष दीपक के. सी. १० का अध्यक्ष रामकुमार के. सी. र वडा १६ का अध्यक्ष मुकुन्द रिजालले भने — ‘श्रम संस्कृतिको विकास गरौं । काम गर्न सक्ने व्यक्तिलाई निःशुल्क भोजन गराउनु दिगो काम होइन । यसले व्यक्तिको उत्पादनशीलता घट्छ । हामीले बन्दाबन्दीका समयमा आफैं लागेर खाद्य सामाग्री बाडेका थियौं । खाना पकाएर खुवाएका थियौं । त्योभन्दा श्रममा आधारित सहयोग दिगो हुने देखेर निःशुल्क भोजनको व्यवहार छोडेका हौं ।’

'खानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ । यसको जिम्मेवारी स्थानीय सरकारका रुपमा महानगरले लिन्छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ । अल्छी बनाउनुहुन्न । काठमाडौंलाई गरी खानेहरूको सहरका रुपमा चिनाउनुपर्छ ।' मेयर शाक्यले, कोरोना कहरका बेला सार्वजनिक स्थान र सडकमा स्वास्थ्य मापदण्डको सामान्य पनि ख्याल नगरी जथाभावी लाइन लगाएर खाना खुवाई स्वास्थ्यमाथि नै हेलचेक्य्राइँ नगर्न आग्रह गरे ।

‘अभावमा रहेकाको कथा बेचेर काठमाडौंलाई मागी खानेहरुको सहरका रुपमा परिचय गराउने कुनै काम नगरौं । काठमाडौं सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सहर हो । यसको यो परिचयमा धुलो नलागोस् । हाम्रो यही चाहना हो ।’ उनले भने — ‘यसका लागि सबै राजनीति दल र राजनीतिककर्मी र अभियन्ताहरुलाई सहयोग गरिदिन आग्रह गर्दछु ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै