• २०८१ बैशाख २२ शनिबार

चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीले चार गैँडा मारे

kharibot

फाइल तस्वीर

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता चोरी शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चारवटा चोरी शिकारीका कारण हो । आठवटा गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृत्तावस्थामा फेला परेको थियो । टाउकोमा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र सोही क्षेत्रमा माउ र बच्चा गलेको अवस्थामा फेला परेको छ ।

दुवैको खाग तस्करले लगेको बरालले बताए । एउटै समयमा तस्करको आक्रमणको निशानामा तीनवटै गैँडा परेको अनुमान छ । माउ र बच्चाको खाग लगेको भए पनि अर्को गैँडाको लान नसकेको बताइन्छ । यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर मात्र फेला परेको छ । बरालले झण्डै छ महिनाअघि तस्करले मारेर खाग लगेको हुनसक्ने बताए । सो गैँडा गत आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीहरुको अनुमान छ ।

निकुञ्जमा चोरी शिकारीले विगत चार वर्षयता गैँडा मार्न सकेका थिएनन् । विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए ।

निकुञ्जमा चोरी शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशन समेत दिएका छन् । बरालले भने, “हामीले दक्ष जनशक्ति माग गरेका छौँ ।” सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । एकाएक चोरी शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ ।

प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिए । निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उनको भनाइ छ । निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ ।

सन् २०१५ को गणना अनुसार नेपालमा ६४५ गैँडा रहेका छन् । यसमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६०५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै