• २०८१ बैशाख २० बिहीबार

श्रीपञ्चमीको अवसरमा मिथिलाञ्चलमा हलोगोरु पूजा

kharibot

फाइल तस्बीर

जलेश्वर । श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले  हलो र गोरुको पूजा गरेका छन् ।  पराम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरुआत  मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन्  ।  

किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरुसहित हलो राखेर पूजाआजा गरेका छन् । साथै घरबाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर तिनको पूजा गरेका छन् ।

किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजीकैको खेतमा लगेर आज एकछिन जोत्ने गर्दछन् ।   आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्ने गर्दछन् ।  उनीहरुले हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन् ।

श्रीपञ्चमीका अवसरमा किसानले अरवा चावलमा सख्खर मिलाएर प्रसाद तयार पार्दछन्  ।  हलो र गोरुको पूजा गरिसकेपछि हलो जोत्ने, एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर  पूजा सम्पन्न गर्दछन् ।

मिथिलाञ्चलका किसान आजका दिनबाट आफ्नो खेतीपाती शुरु भएको समेत मान्दछन् भने आजैका दिनबाट आ–आफ्ना बाँझो खेतबारीसमेत जोत्न शुभारम्भ गर्दछन् । हलोगोरु पूजाका अवसरमा गाउँगाउँमा सयौँ गोरु एकैसाथ कुदिरहेको तथा किसानको काँधमा हलो लहरैरुपमा राखेर गइरहेको हेर्दा सबैको मन खुशीले गद्गद् हुन्छ ।

हलो र गोरु पूजा जिल्ला सदरमुकाम जलेश्वरलगायत जिल्लाको १० नगरपालिका, पाँच गाउँपालिका गरी १५ स्थानीय तहमा भइरहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै