• २०८१ बैशाख १५ शनिबार

निजी वनका लागि प्रवद्र्धन कार्यक्रम ल्याइने : मन्त्री आले

kharibot

फाइल तस्वीर

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सरकारले निजी वनको प्रवद्र्धनको विषेश कार्यक्रम ल्याउने बताएका छन् ।

पारिवारिक निजी वन सङ्घ नेपालले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा आज काठमाडौँमा मन्त्री आलेले अन्य वन तथा उद्यमी सरह निजी वन सङ्घ पनि भएकाले आगामी वर्षको बजेटमा निजी वनको हित तथा विकासका लागि सहयोग पुग्ने खालाको कार्यक्रम ल्याइने बताए । उनले भने, “निजी वन तथा त्यसमा आबद्ध भएकालाई फाइदा हुने खालका योजना समावेश गरेर कार्यक्रम ल्याउनेछौँ ।”

मन्त्री आलेले निजी वन उद्यमीले अन्य व्यवसायी जस्तै सरकारबाट सहुलियत ऋण पाउने बताए । उनले भने, “निजी वन उद्यमीले पनि अरु व्यवसायी सरह ऋण पाउने विषयमा मैले सरोकारवाला मन्त्रालय तथा निकायसँग आवश्यक अन्तरक्रिया गरिरहेको छु ।” हाल तराई, भित्री मधेस र मध्य पहाडका विभिन्न जिल्लामा ठूलो सङ्ख्या र क्षेत्रफलमा सालका निजी वन रहेको र मन्त्रालयमा कटान मुछानका लागि निवेदन परेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, “मन्त्रालयले विसं २०५८ मा व्यावसायिक प्रयोजनका लागि कटान, ओसार पसार र विदेशी निकासी गर्न साल प्रजातिलाई प्रतिबन्ध गरेको रहेछ । मन्त्रालयले तत्कालीन समय परिस्थितिलाई मध्यनजर गरेर उक्त निर्णय गरेको हुनुपर्छ तर वर्तमान समय परिस्थिति बदलिएको छ ।

आलेले कानूनी प्रक्रिया थाहा नपाई आफ्नै बारीको रुख हो भन्दैमा रुख काट्दा कतिपय किसानले जेल जीवन भोग्नुपरेको अवस्था आफूले प्रत्यक्ष देखेको र आफू वन तथा वातावरणमन्त्री भइसकेपछि निजी वन पैदवारको काठ कटान, ओसार पसार, बिक्री वितरण तथा उपयोग सम्बन्धीको कानूनी व्यवस्थालाई थप सरलीकृत गर्दै किसानमैत्री बनाउन पहलकदमी चालिरहेको जानकारी दिए ।

“आगामी दिनमा निजी वन हुर्काउँदा कसैले दुःख नपाउने गरी कानुनी प्रक्रियाहरुलाई व्यावहारिक वनाइने छ, निजी वनबाट बढीभन्दा बढी मानिस लाभान्वित हुने अवस्था सिर्जना गरिने छ”, उनले भने, “निजी क्षेत्रका वन तथा उद्यमीलाई कानूनी रूपमा हुने बाधा अड्चनमा सहज गराउने छौँ ।”

सांसद रामनारायण विडारीले वन तथा वातावरण मन्त्रीले उठान गरेका कुरा राम्रा भएकाले यस विषयमा सबै सरोकारवाला निकाय तथा निजी वनका पदाधिकारी मिलेर छलफल गर्नुपर्ने धारणा राखेका थिए । पारिवारिक निजी वन सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले सरकारले निजी वन तथा त्यसमा आबद्ध सम्पूर्ण व्यवसायीका माग चाँडो पहल गर्नुपर्ने आग्रह गरे । उनले भने, “हामी पनि रुख रोपौँ, वन जोगाऔँ भन्ने अभियानमा छौँ, हाम्रा जायज मागको सम्बोधन होस् ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै