• २०८१ जेठ १ मंगलबार

सवारी कारवाहीबाट १६ लाख बढी राजश्व

kharibot

प्रतिनिधी तस्वीर

डोटी । चालू आर्थिक वर्षको साउनदेखि यता कम्तीमा तीन हजार सवारी साधन कारवाहीमा परेका छन् । पछिल्लो समय यहाँका ट्राफिक प्रहरीले सवारी साधन जाँचमा कडाइ गर्न थालेपछि ठूलो सङ्ख्यामा सावारी साधन कारवाहीमा पर्न थालेका हुन् । 

पछिल्लो समय यहाँ सवारी दुर्घटना बढ्न थालेको तथा चालक अनुमतिपत्र विना सवारी साधन चलाउनेको सङ्ख्या बढ्दै गएको भन्ने गुनासा बढेपछि ट्राफिक प्रहरी सक्रिए भएको हो । चालु आवको साउन यता साना, ठूला गरी एक दर्जन सवारी दुर्घटना भएको र त्यसमा आठ जनाले ज्यान गुमाइसकेका छन् । दुर्घटनामा परी दश जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विना मापदण्डका यहाँका गाउँघरमा काटिएका सडकमा बढी दुर्घटना हुने गरेको पाइएको छ । गाउँमा सडक पुर्याउने होडबाजीअनुसार सनकका भरमा डोजर प्रयोग हुँदा सवारी दुर्घटना हुने गरेको केआइसिंह गाउँपालिका–५ का चेतराज भट्टले जानकारी दिए । उनका अनुसार नेताले निर्वाचनमा गाउँमा सडक पुर्याउने नागरिकसँग विगतमा गरेको बाँचाअनुसार निर्माण गरिएका सडकको स्तरोन्नति नभएका कारण दुर्घटना हुन थालेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका अनुसार गएको साउनदेखि यता यही चैत्र १५ सम्म ट्राफिक नियम पालना नगर्ने दुई हजार ९६४ सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट रु १६ लाख २८ हजार ५०० राजश्व रकम समेत सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब निरीक्षक अशोक खड्काले जानकारी दिए । उनका अनुसार गत साउनमा ३२८ सवारी साधन कारवाहीमा परेका छन् भने रु एक लाख ८२ हजार ५०० राजश्व सङ्कलन भएको छ । भदौमा २९८ सवारी साधन कारवाहीमा परेका छन् भने रु एक लाख २१ हजार राजश्व सङ्कलन भएको छ ।

यसैगरी असोजमा २९८ सवारी साधन कारवाहीमा परेका छन् भने रु एक लाख ६२ हजार राजश्व सङ्कलन भएको छ । कात्तिकमा ३७४ सवारी साधन कारवाहीमा परेका छन् भने रु एक लाख ९८ हजार ५०० राजश्व सङ्कलन भएको छ । मङ्सिरमा ४३० सवारी साधन कारवाहीमा परेका छन् भने रु दुई लाख ३१ हजार ५०० राजश्व सङ्कलन भएको छ । पुसमा ३२ सवारी साधन कारवाहीबाट रु एक लाख ६२ हजार ५०० राजश्व सङ्कलन भएको छ । माघमा ३६१ सवारी साधन कारवाही गरी रु दुई लाख सात हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै फागुनमा ४३१ सवारी साधनमाथि कारवाही गर्दा रु दुई लाख ४१ हजार ५०० राजश्व सङ्कलन भएको छ । यही चैत १५ गतेसम्ममा २११ सवारी साधन ट्राफिक कारवाहीमा परिसकेको र रु एक लाख २२ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । होली पर्व विशेष जाँचका क्रममा मात्रै २५ वटा सवारी साधन कारवाहीमा परेको र त्यसमध्येका दुई वटा जीप, ६ मोटरसाइकल र एक अटो गरी नौ सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । 

आइतबार मात्रै कारवाही गरिएका सवारी साधनबाट रु १७ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी हवल्दार पुकार बोहराले जानकारी दिए । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकलाई सचेतना कार्यक्रम, विद्यालयमा जनचेतना कार्यक्रम र सरोकारवालालाई सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कच्ची तथा साघुँरा सडक भएका कारण पनि बढी सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अनुमान छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै