• २०८१ बैशाख १७ सोमबार

आन्तरिक राजश्व कार्यालय भरतपुरको ६० करोड बढी बक्यौता

kharibot

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरको गत आर्थिक वर्षमा ६० करोड ६१ लाख बक्यौता राजस्व उठाउन बाँकी रहेको छ ।

कार्यालयले आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क बापत सो रकम उठाउन बाँकी रहेको हो । कार्यालयका कर अधिकृत विष्णु रावतका अनुसार आयकरतर्फ रु १७ करोड ६१ लाख, मूल्य अभिवृद्धि करतर्फ रु ३८ करोड ५१ लाख र अन्तःशुल्कतर्फ रु चार करोड ६४ लाख बक्यौता उठाउन बाँकी रहेको छ । यस कार्यालयमा दर्ता भएका करदता मध्ये एक सय छ जना करदाताबाट सो रकम उठाउन बाँकी रहेको छ ।

विगत तीन वर्षदेखि कर नतिर्ने करदाताहरूबाट बक्यौता असुलीका लागि कार्यालयले करदाताको नाम सार्वजनिक गरेको छ । एक सय छ जनाको नाम पत्रिकामार्फत सार्वजनिक गरिएको उनले बताए ।उनले भने, “नाम सार्वजनिक भएसँगै करदाताहरू सम्पर्कमा आएका छन् ।” कार्यालयले टेलिफोन सम्पर्क गर्ने, पत्राचार गर्ने करदताकोमा सङ्कलन भ्रमण गर्ने र ताकेता गर्नेलगायतका काम गर्दा समेत बक्यौता रकम तिर्न नआएपछि उनीहरूको नाम सार्वजनिक गरिएको उनले बताए ।

उनका अनुसार नाम सार्वजनिक भएसँगै १५ जना करदाता बाहेक अन्य सम्पर्कमा आएका छन् । सम्पर्कमा नआएका करदातालाई कानूनी कारवाहीका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको उनले जानकारी दिए ।

सम्पर्कमा नआएका करदातामध्ये आयकरका आठ जना र मूल्य अभिवृद्धि करका सात जना रहेका छन् । उनीहरूको बैंक खाता रोक्काका लागि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । कार्यालयमा गत आर्थिक वर्षमा व्यक्तिगत खाता नम्बर (पान) लिने एक लाख ४४ हजार दुई सय ९८ जना र व्यावसायिक पान लिने ६८ हजार पाँच सय ९० जना करदाता रहेका छन् । कार्यालयले गत आर्थिक वर्षमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजार राजश्व सङ्कलन गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै