• २०८१ बैशाख १८ मंगलबार

पूर्वाञ्चल र मध्यमाञ्चलका अधिकांश जिल्लामा विद्युत् अवरुद्ध : विद्युत् गृहबाटै कम उत्पादन/आयात पनि ठप्पै

kharibot

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले  विगत २/३ दिनदेखिको अविरल वर्षाका कारण पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रका अधिकांश जिल्लामा विद्युत् सेवा अवरुद्ध हुनपुगेको जनाएको छ । प्राधिकरणले आइतबार विज्ञप्तिमार्फत प्रसारण लाइन, सब स्टेसन तथा वितरण प्रणालीलगायतहरुका संरचनाहरुमा ठूलो क्षति भएकोले विद्युत् वितरणमा समस्या आएको जनाएको हो ।

प्राधिकरणका अनुसार हाल विराटनगर लगायत पूर्वाञ्चलका सम्पूर्ण जिल्लाहरुमा विद्युत् आपूर्ति हुन नसकेको जनाएको छ । यस्तै मध्यमाञ्चलका पनि धेरैजसो जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध रहेको जानकारी दिएको छ । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसरी विद्युत् आपूर्तिमा पर्न गएको अवरोधले गर्दा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी छ ।’ उसले छिटोभन्दा छिटो समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्राधिकरणका अनुसार क्षति पुगेका मुख्य १३२ र ६६ के,भी. लाइन तथा सबस्टेसनहरुमा दमक—गोधक खण्डको १३२ के.भीको लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं. १७ बाढीको कारण ढलेको छ भने हेटौंडा सबस्टेसनअन्तर्गतको हेटौंडा सिमेन्टनजिक ६६ के.भी. टावर पल्टिन लागेकोले सो ६६ के.भी.औघोगिक फिडर सर्किट नं. १,२ बन्द गरिएको छ । त्यस्तै, दुहवी सब–स्टेसन, दमक सब–स्टेशन, अनारमनी सब–स्टेसन जलमग्न भएको हुँदा शुक्रबारदेखि नै पूर्ण रुपमा बन्द भएको छ । यस्तै, चपुर–पथलैया १३२ के.भी. सर्किट नं. २ पनि शुक्रबार राति ९ः३८ बजेदेखि चालू हुन सकेको छैन भने ढल्केबर–चपुर १३२ के.भी. सर्किट नं. १, शुक्रबार दिउँसो ४ः१८ बजेदेखि बन्द छ । त्यस्तै, बालाजु–त्रिशुली ६६ के.भी. सर्किट नं. १ र २, नयाँ संरचनामा रक्सौल–परवानीपुर १३२ के.भी.को भलुहीमा टावर नं. १७÷० र १६÷०मा बाढीले बेस खनेको कारण अवरुद्ध हुनपुगेको प्राधिकरणले जनाएको छ ।

यता, १३२ के.भी.र ३३ के.भी. सबस्टेसन फिडरको ट्रिपिंग अवस्थाबारे जानकारी दिँदै प्राधिकरणले लहान सबस्टेसनअन्तर्गत रुपनीरलोकल फिडरबाहेक सम्पूर्ण ३३ के.भी. तथा ११ के.भी. बन्द रहेको जनाएको छ । जसअन्तर्गत ३६ मेगावाट लोडमध्ये २ मेगावाट मात्रै खपत भइरहेको तथा ढल्केबर सबस्टेशनअन्तर्गतको जनकपुर फिडर बाहेक सम्पूर्ण फिडरहरु बन्द रहेका छन्, जसबाट ३५ मेगावाट लोडमध्ये १ मेगावाट मात्रै खपत भइरहेको छ ।

त्यसैगरी चपुर सबस्टेसनअन्तर्गत हरसाहा ३३ के.भी. तथा लोकल फिडरहरु चार्ज भएको साथै गौर, हरिपुर तथा निजगड ३३ के.भी. लाइनमा फल्ट रहेको हुँदा ३२ मेगावाट लोड हुने सबस्टेसनमा जम्मा १.५ मेगावाट खपत भएको छ । यस्तै, हरिपुर ३३ र ११ के.भी. सरस मा १ फिट पानी रहेको छ भने गौरनजिक ३३ के.भी.फिडरको २ थान पोल बाढीले बगाएको छ । परवानीपुर सबस्टेसनअन्तर्गत गण्डक र हिमाल फिडरहरुमा समस्या आएको छ भने वीरगञ्ज सबस्टेसनअन्तर्गत चार वटा फिडर नलागेको अवस्थामा २० मेगावाटमध्ये ७ मेगावाट मात्रै खपत भइरहेको प्राधिकरणको भनाइ छ ।

त्यस्तै सिमरा सबस्टेसनमा जमिनदेखि १ मिटर माथि पानि आएको हुँदा शनिबार रातिदेखि बन्द रहेको छ भने हेटांैडा सबस्टेसनअन्तर्गतको लोकल फिडरबाहेक अन्य कुनै पनि फिडर चालू नरहँदा १२ मेगावाटमा २ मेगावाट मात्रै खपत भइरहेको छ । यता भरतपुर सबस्टेसन र पर्सा सबस्टेसन पूर्ण रुपमा जल मग्न रहेका छन् भने भरतपुर स.स.अन्तर्गत गैडाकोट फिडरबाट ४० मेगावाटमा २ मेगावाट मात्रै चालू रहेको प्राधिकरणको भनाइ छ । शिवपुर सबस्टेसनअन्तर्गत ११ के.भी. शिवपुर फिडर र बहादुरगंज फिडर बन्द अवस्थामा रहेका छन् भने कोहलपुर सबस्टेसनअन्तर्गत राजा फिडरबाहेक सम्पूर्ण बन्द अवस्थामा हुँदा ४० मेगावटमा २ मेगावाट मात्रै प्रयोग भइरहेको छ ।

विद्युत् गृहबाटै कम उत्पादन
धेरै सबस्टेसन र फिडरहरु बन्द हुँदा जलविद्युत् गृहको क्षमता उत्पादनभन्दा धेरै कम उत्पादन हुनपुगेको प्राधिकरणले जनाएको छ । १४४ मेगावाट क्षमताको कालीगण्डकी ए बाट अहिले १०० मेगावाट उत्पादन भइरहेको छ भने ७० मेवाको मध्यमर्स्याङ्दीबाट २५ मेगावाट, ६९ मेवाको मर्स्याङ्दीबाट  मात्र ३२ मेगावाट विद्युत् उत्पादन भएको छ । त्यस्तै, बालाजु त्रिशुली ६६ के.भी. सर्किट ट्रिपिंग भएकाले चिलिमे र त्रिशुली ७–७ मेगावट र देवीघाट ५ मेगावाट मात्र उत्पादन गरिरहेको तथा गण्डक पावरहाउस बाढीको कारणले आइतबार बिहान ५ः२२ देखि बन्द अवस्थामा रहेको छ ।

विद्युत् आयातको अवस्था कस्तो छ ?
प्राधिकरणका अनुसार ढल्केबर–मुजफ्फरपुरबाट लिनुपर्ने १०० मेगावाट पावरमध्ये लोड नभएको कारणले ७ मेगावाटदेखि ३३ मेगावाट मात्र लिन सकेको अवस्था छ भने विहारबाट हुने सम्पूर्ण आयात बन्द छ  । त्यस्तै टनकपुरबाट हुने आयात पनि बन्द गरिएको छ ।

उपत्यकामा लोड ट्रिपिंग समस्या
यता राजधानी उपत्यकाको स्युचाटार सबस्टेसनबाट स्वयम्भू ११ के.भी फिडर अर्थ फल्टको कारणले बिहान ४ देखि ७ सम्म बन्द रहेको थियो । बानेश्वर सबस्टेसनअन्तर्गतको लुभु ११ के.भी. फिडर लाकुरी भन्ज्याङ्ग नजिक तार खसेको कारणले फिडर अर्थ फल्टको कारणले ४ देखि ७ सम्म बन्द रहेको तथा पाटन सबस्टेसनअन्तर्गतको चापागाउँ ११ के.भी. टिका भैरवनजिक भुइँमा तार खसेको कारणले फिडरअर्थ फल्टको कारणले आइतबार बिहान ३ः१० देखि ८ः१५ सम्म बन्द रहेको थियो । त्यस्तै पुरानो चावहिल सबस्टेसनअन्तर्गत ११ के.भी. जोरपाटी फिडर अर्थ फल्टको कारणले ट्रिप भएको प्राधिकरणले जनाएको छ ।

 

 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै