• २०८१ बैशाख १६ आइतबार

कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिनाको महाभिडन्त, कस्तो छ इतिहास ?

kharibot

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत फाइनल खेल अर्जेन्टिना र ब्राजिलबीच हुने भएपछि अहिले यसको सर्वत्र चर्चा चलिरहेको छ । फाइनल खेल नेपाली समय अनुसार आइतबार बिहान ५:४५ बजे शुरु हुने छ । 

परम्परागत रुपमा फुटबलमा प्रतिद्वन्दी रहेका ब्राजिल र अर्जेन्टिनाबीच यस अघि १११ पटक भिडन्त भएको छ । 

जसमा ब्राजिलले ४६ पटक जित हासिल गरेको छ भने अर्जेन्टिनाले ४० खेलमा जित हासिल गरेको छ ।  त्यस्तै यी दुई टिमका २५ खेल बराबरीमा सकिएका छन् । 

पछिल्लो पटक यी दुई टिम २०१९ नोभेम्बरमा दक्षिण अमेरिकाको सुपर क्लासिकोमा खेलेका थिए जुन खेल लियोनेल मेसीको गोलमा अर्जेन्टिनाले १-० गोल अन्तरले जितेको थियो । 

तर अन्तिम पटक ठुलो प्रतियोगितामा भने २०१९ को कोपा अमेरिकाको सेमीफाइनलमा खेलेका थिए । जसमा ब्राजिल २-० ले विजयी भएको थियो ।

यस कोपा अमेरिकामा दुवै टिमको फाइनलसम्मको यात्रा : 

यस कोपा अमेरिकामा समुह ए मा रहेको अर्जेन्टिनाले खेलेका ४ खेलमा ३ जित र एक बराबरी खेलेको थियो । अर्जेन्टिना पहिलो खेलमा चिलीस्नाग १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा उरुग्वेसँग १-० को जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा पराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको अर्जेन्टिनाले चौथो तथा अन्तिम खेलमा बोलिभियालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

समुह ए मा पहिलो हुदै क्वाटरफाइनलमा पुगेको अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको थियो ।

त्यस्तै समुह बि मा रहेको ब्राजिलले पनि समुह चरणका चार खेलमा ३ जित र एक बराबरी खेलेको थियो । ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरको थियो भने दोस्रो खेलमा पेरुलाई ४-० गोलले पराजित गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको ब्राजिलले चौथो खेलमा इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको थियो । समुह ए बाट पहिलो हुदै क्वाटरफाइनलमा पुगेको ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै सेमिफाइनलमा ब्राजिलले पेरुमाथि १-० गोलको जित हासिल गर्दै फाइनलमा पुगेको थियो । 

ब्राजिल र अर्जेन्टिनाबीच कोपा अमेरिकाका अन्तिम ५ भिडन्त : 

५) कोपा अमेरिका २०१९ : ब्राजिल २-अर्जेन्टिना ०  

२०१९ कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको थियो । सो खेलमा ब्राजिलका लागि गाब्रियल जिसस र फिर्मिनोले एक एक गोल गरेका थिए ।

४) कोपा अमेरिका २००७ : ब्राजिल ३- अर्जेन्टिना ० 

कोपा अमेरिकाको २००७को फाइनलमा ब्राजिलले अर्जेन्टिनामाथि ३-० को जित हासिल गरेर उपाधि जितेको थियो । सो खेलमा ब्राजिलका जुलिओ बापिस्टा र डानी आल्भेजले एक एक गोल गरेका थिए भने एक गोल अर्जेन्टिनाका रोबेर्टो आयालाले आत्मघाती गोल गरेका थिए । 

३) कोपा अमेरिका २००४ : अर्जेन्टिना २- ब्राजिल २ (२-४)

२००४ को कोपा अमेरिकाको फाइनलमा निर्धारित समयमा ब्राजिल र अर्जेन्टिनाबीच २-२ गोलको बराबरी भएको थियो ।  सो खेलमा पेनाल्टी सुटआउटमा ब्राजिलले अर्जेन्टिनालाई ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । 

२) कोपा अमेरिका १९९९ : ब्राजिल २- अर्जेन्टिना १ 

कोपा अमेरिका १९९९ को क्वाटरफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।  सो खेलमा रोनाल्डो र रिभाल्डोले ब्राजिलका लागि एक एक गोल गरेका थिए भने अर्जेन्टिनाका लागि पाब्लो सोरिनले एक गोल फर्काएका थिए ।

१) कोपा अमेरिका १९९५ : ब्राजिल २- अर्जेन्टिना २ (४-२)

कोपा अमेरिकाको १९९५ को क्वाटरफाइनलमा ब्राजिलले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको थियो ।  निर्धारित समयमा २-२ गोलको बराबरीपछि ब्राजिलले पेनाल्टी सुटआउटमा जितेको थियो ।

समग्रमा कोपा अमेरिकामा प्रदर्शनको चर्चा गर्दा अहिलेसम्म अर्जेन्टिनाले १४ पटक उपाधि जितेको छ भएन ब्राजिलले ९ पटक उपाधि जितेको छ ।  त्यस्तै अर्जेन्टिना १४ पटक नै उपविजेता बनेको छ भने ब्राजिल ११ पटक उपविजेता बनेको छ । त्यस्तै कोपा अमेरिकाको इतिहासमा सबै भन्दा बढी पटक उपाधि जित्ने टिम भने उरुग्वे हो ।  उरुग्वेले १५ पटक उपाधि जितेको छ भने ६ पटक उपविजेता बनेको छ । 

तर अर्जेन्टिनाले १९९३ पछि कोपाको उपाधि जित्न सकेको छैन ।  पछिल्लो पटक अर्जेन्टिना २०१५ र २०१६ मा लगातार फाइनलमा पुगेर दुवै पटक चिलीसँग पराजित हुदै उपविजेता बनेको थियो । त्यस्तै ब्राजिल भने हाल कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन हो ।

ब्राजिलले २००७ पछि २०१९ मा कोपाको उपाधि  जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै