• २०८१ बैशाख २१ शुक्रबार

पाठ्यपुस्तक समिक्षा: सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा कक्षा ११

kharibot

पृष्ठभूमि

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरूमा समाजको अध्ययनसहित जीवनोपयोगी सिप विकास गराई मानवीय मूल्य र मान्यतासहित लोकतान्त्रिक समाजमा अनुकूलन हुन सक्ने असल र सक्षम नागरिक तयार पार्ने उद्देश्यले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यक्रम तयार गरि कक्षा ११ मा कार्यान्वयन भैसकेको र कक्षा १२ मा यो बर्ष हुदैछ ।

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पाठ्यक्रमले ज्ञान, सिप, अभिवृत्ति र मूल्यको विकासमा जोड दिएको छ । अध्ययन अध्यापनमा सैद्धान्तिकभन्दा व्यावहारिक र प्रयोगात्मक पक्षमा बढी जोड दिएको छ । यस विषयका लागि साप्ताहिक ५ पाठ्यघण्टा र वार्षिक कुल १६० कार्यघण्टा छुट्याइएको छ । जहाँ विषयवस्तुमा १२० कार्यघण्टाको सैद्धान्तिक तथा ४० कार्यघण्टाको व्यावहारिक अभ्यास समावेश गरिएको छ ।

पाँच वटा क्षेत्र; ज्ञान, सिप, अभिवृत्ति, मूल्य र कार्य तत्परतालाई समेटी त्यसको क्रियात्मक स्वरूपमा सक्षमता निर्धारण गरिएको छ । जहाँ १३ ओटा तहगत सक्षमता-कक्षा ११ मा ३७ र १२ मा ४७ ओटा कक्षागत सक्षमता) निर्धारण गरिएको छ ।

यसमा विद्यार्थीहरूलाई आआफ्ना समुदायमा खोज गरी सिर्जनात्मक प्रतिभाको विकास गर्न प्रोत्साहन गर्ने, र कथा, कविता, नाटक, समाचार, चिठी, सम्पादकीय, गीत, प्रतिवेदन, रेखाचित्र, वृत्त चित्र, स्तम्भ चित्र, तालिका, तस्बिर, नक्सा, परियोजना कार्य, क्षेत्रभ्रमण, भूमिका निर्वाह र नेतृत्व विकासजस्ता सिर्जनशील क्रियाकलापमार्फत आवश्यक ज्ञान, सिप र अभिवृत्ति विकास गराउँदै सिर्जनशीलताको विकास गराउने लक्ष्य राखिएको छ ।विद्यार्थीहरूलाई गर र सिक अनि सिक र गर भन्ने धारणाको अभिवृद्धि गराउनु सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको मूल लक्ष्य हो ।

त्यो प्राप्त गर्न सिकाइ सहजीकरणमा परियोजना कार्यमा आधारित, सिकारुकेन्द्रित, खोज, छलफल र प्रयोगात्मक विधिहरूको अवलम्बन गर्नुपर्ने कुरा निर्दिष्ट गरेको छ। विद्यार्थीलाई पर्याप्त मात्रामा खोजी गर्ने, सोच्ने, तर्क गर्ने, समालोचनात्मक सोच राख्ने, बुझने, छलफल गर्ने, परीक्षण गर्ने, अनुभूति गर्ने अवसर दिने कुरामा खुला छ ।

यो बिषयको मूल्यांकनलाई ७५% बाहय मूल्यांकन (सेसनको अन्तमा लिखित परीक्षा)   र २५% आन्तरिक मूल्याकंन हुने व्यवस्था छ।  आन्तरिक मूल्यांकनमा कक्षा सहभागीता -३, त्रैमासिक परीक्षाको मुल्यांकन -६, परियोजना कार्य,प्रयोगात्मक कार्य,प्रतिबेदन लेखन तथा प्रस्तुती र अन्तर्वार्ता -१६ हुने व्यवस्था रहेको छ।

पाठ्यक्रममात्र असल बनएर मात्र हुदैन् । पाठ्यपुस्तक असल हुनु आवश्यक छ। असल पाठ्यपुस्तक कस्तो ? उत्तर सहज छ- पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि र सक्षमता हासिल हुने र बिषयबस्तु क्षेत्र र क्रमलाई  समेटिएको । तर यतिले पुग्दैन् । असल शिक्षकलाई त्यो पाठ्यपुस्तक असल छ भन्ने लाग्नुपर्छ । र त्यो त्यतिबेला लाग्छ जब पाठ्यक्रम र पाठ्यपुस्तकले उद्देश्य हासिल गरेको विद्यार्थीहरुको शैक्षिक उपलब्धिको मूल्यांकन गर्दाको नतिजाले बताउँछ। यतिलेमात्र पुग्दैन् - बिद्यार्थीको बिषय अनुकूल  व्यवहारमा आएको सकारात्मक परिवर्तनले बताउँछ ।

नेपालमा कक्षा ११ मा अनिवार्य बिषयका रुपमा  सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (sol 005) शैक्षिक सत्र २०७७ देखि लागू गरियो। यो पाठ्यपुस्तकको प्रकाशक नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय ,पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर र मुद्रण जनक शिक्षा सामग्री केन्द्र लि.ले गर्‍यो । उक्त पाठ्यपुस्तकको सबल र दुर्वल पक्षलाई निम्नानुसार प्रस्तुत गरि मूल्यांकन गरिएको छ।

पाठ्यपुस्तकका सबल पक्षहरू

१. सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यपुस्तक पाठ्यक्रममा निर्दिष्ट गरिएको सिकाइ उपलब्धि र सक्षमता हासिल गर्न विषयवस्तु र  सिकाइ सहजीकरणमा पूर्ण रुपले आधारित भई तयार पारिएको  ।

२ .सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यपुस्तकमा सामाजिक विज्ञान र जीवनोपयोगी सिपका ११ ओटा अति महत्त्वपूर्ण क्षेत्रहरु समेट्नु ।

३. विद्यार्थीको योग्यता, क्षमता र आवश्यकता अनुरूपको विषयवस्तुको प्रस्तुतीकरणका साथ सरल र बोधगम्य भाषाको प्रयोग भएको ।

४ .सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको  पाठ्यपुस्तक `सीप सिकाइको कला,विद्यार्थी केन्द्रित  र व्यवहारीक क्रियाकलापमा आधारित ` रहेको ।

५ .आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न बिषयहरुलाई उत्कृष्ट तरिकाले आगमनात्मक पद्धतिबाट प्रस्तुत गरिएको ।

६ .सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कक्षा ११ को पाठ्यपुस्तकमा सिकाइ सहजीकरणको लागि क्रमशः  बिषयबस्तुको सिर्जनशील क्रियाकलाप ( कथा,संवाद ,चिठी,तस्वीर ,समचारको अंश, घटना,प्रतिबेदन ....),मुख्य तथ्य तथा सुचना निलो रङ्गमा बक्समा,कलर चित्र,चार्ट, क्रियाकलापको अभ्यास,अभ्यास र परियोजना कार्य प्रस्तुत गरिएको ।

७. एकाइ एकको पहिलो पाठ `सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अर्थ,स्वरुप र महत्व ´बुझाउन पत्रकार र विज्ञको अन्तर्वार्ता प्रस्तुत गरिनु।यहाँ विद्यार्थीले अन्तर्वार्ता  लिने -दिने सीप र बिषयबस्तु दुबै थाहै नपाइ रोचक तरिकाले सिक्छ। त्यस्तै एकाई -६ पाठ- ३ मा मोहिनीले जोनलाई लेखेको पत्रमा औद्योगिक क्रान्तिको बिषयबस्तु रोचक पारामा प्रस्तुत गरिएको ।यी त केही दृष्टान्त मात्र हुन् ।

८ . बिद्यार्थीहरुलाई सोच्न,निर्णय निर्माण गर्न,छलफल गर्न, समालोचकनात्मक चेत विकास गर्न, प्रतिबेदन लेख्न, प्रस्तुत गर्नको लागि आवश्यक  व्यवहारीक बिषय, प्रश्न र स्थान उपलब्ध गराइएको ।

९.  गृहकार्य, अभ्यास , आन्तरीक मूल्याङ्कन, सिर्जनात्मक अभ्यास , समस्या समाधान, विश्लेषणात्मक सोचाइ निर्णय र निष्कर्ष निर्माण जस्ता सीपलाई पाठ्यपुस्तकमा स्थान दिइएको ।

१० .विश्व प्रतिस्पर्धात्मक बजारमा परिणत भएको बेला  सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको ई-वुक को आवश्यकता परिपुर्ति गरिएको ।

११.  पाठ्यपुस्तक धेर थोर वालमैत्री, लैङगिक मैत्री, शिक्षकमैत्री र वातावरण मैत्री भएको ।

१२.  विद्यार्थीको रुचि र अहिलेको आवश्यकता दुबै परियोजना कार्य र प्रविधिमा आधारित सिकाइ हो त्यो जीवनोपयोगी सीप र सामाजिक सिप सिकाउँदा प्रयोग हुन्छ। पाठ्यपुस्तक विद्यार्थीकोरुचि,आवस्यकता ,स्तरलाई ध्यान दिएर तयार पारिएको ।

पाठ्यपुस्तकको दुर्वल पक्षहरु

१. हामीकहाँ  शिक्षकहरुले पाठ्यक्रम नै नहेरी पाठ्यपुस्तकलाई मात्र आधार मानेर पढाउने चलन अलि बढी नै छ। त्यसैले के सिकाउन खोजेको हो भनेर बुझ्न गार्‍हो हुन्छ।वास्तवमा अध्ययन अध्यापनको प्रमुख योजना तथा मार्गदर्शक सामग्री पाठ्यक्रम भए पनि पाठ्यपुस्तकलाई नै शिक्षण प्रक्रियाको मुख्य सामग्रीका रूपमा प्रयोग हुने गरेको ।

२. प्रयोगात्मक खण्डका समस्याहरु पाठ्यक्रममा मात्र समाबेश गरिएको देखिन्छ। पाठ्यपुस्तकमा त्यस्ता समस्याहरु थोरै भएकाले समस्याको समाधानको तरिका उल्लेख नगर्दा वर्क बूक जस्तो भएको ।

३ .अझै पनि विद्यार्थीको रुचि, आवश्यकता र परिवेशसँग तादात्म्यता कायम गर्न नसक्दा पाठ्यपुस्तकको प्रयोग व्यावहारिक हुन नसकेको ।

४. अहिलेको विश्वव्यापीकरणको प्रभावका साथै सूचना प्रविधिको तीव्रतर विकासलाई सम्बोधन गर्न विविध वेव ठेगाना नदिएको ।

५.अधिकांस पाठ्यक्रमको क्षेत्र र क्रमअनुसार सरलबाट जटिलताको क्रममा पाठ्यसामग्रीहरू समावेश गरिएको तर विश्वको इतिहास कक्षा १२ मा हुनुपर्नेमा कक्षा ११ मा राखिनु ।

६ .पाठ्यपुस्तकहरू वालमैत्री, लैङ्गिक मैत्री वातावरण मैत्री, शिक्षक मैत्री र आवश्यकता मैत्री भनिएपनि यथार्थमा हुन नसकेको ।

७ .व्यावसायिक ज्ञान, सीपको प्रवर्धन र जीवनोपयोगी सिपको विकास गर्न पाठ्यपुस्तकले खोजेको तर पर्याप्त निर्देशन ,विधि,पद्धति ,तरीका र नमूनाहरु नहुदा शिक्षक अल्मल पर्नु र सीप नसिकाइ स्किप हुन् ।

८. एकाइ १० पाठ एकको `नेपालको अर्थतन्त्रका विशेषताहरु´ लेख्दा दुर्वल पक्षहरु मात्र लेखिनु दुःखद्  ।

९. पहुँच ,समय र  उपलब्धका दृष्टिले पाठ्यपुस्तक सर्वसुलभ हुन नसकेको ।

१०. पाठ्यपुस्तकमा नवीनता, रोचकता, मौलिकता र आधुनिकता, स्थानियता  कम रहेको ।

११. पाठ्यपुस्तकका छपाइ, कागज, वाइन्डिङ, मसीको प्रयोग आदिका आधारमा अति कमजोर रहेको ।

१२. विषयवस्तुगत वैधता र विश्वसनीयतामा मापन भएको भनेर कम विश्वास गर्न सकिने ।

निष्कर्ष:

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्र द्वारा प्रकाशित  र जनक शिक्षा सामग्री केन्द्र द्वारा मुद्रित  अनिवार्य बिषय `सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा ´कक्षा ११ को पाठ्यपुस्तक सैद्धान्तिक र  व्यवहारीक दुबै पक्षलाई समेट्ने असल खालको पाठ्यपुस्तक देखिन्छ ।

सामाजिक अध्ययन र जीवनोपयोगी ज्ञान, सीप ,अभिबृती ,मूल्य र तत्परता  सिकाउन परियोजना,अवलोकन अध्ययन ,खोज,सिर्जनात्मक कार्य तथा अनुसन्धान जस्ता क्रियाकलापमा आधारित बिधि अवलम्बन गरिएकोले व्यक्ति असल, चरित्रवान, सक्षम  नागरिक बन्ने र दैनिक जीवनका समस्याहरु समाधान गर्न सक्ने  देखिन्छ। यो पाठ्यपुस्तक आधा सैद्धान्तिक र आधा व्यवहारीक नभएपनि सामाजिक जीवनलाई अपेक्षित बनाउँन सक्ने देखिन्छ ।

केही सिमितताहरुका बाबजुद  समग्रमा यो पाठ्यपुस्तक एक उत्कृष्ट पाठ्यपुस्तक रहेको देखिन्छ तर दिइएका सबै सैद्धान्तिक ज्ञान र सूचना , क्रियाकलाप ,अतिरिक्त क्रियाकलाप ,अभ्यास,परियोजना कार्य सहि र प्रभावकारी  तरिकाले शिक्षकले सहजीकरण गरिदिने र विद्यार्थीहरुले इमानदारीका साथ निरन्तर नियमपूर्वक अभ्यास गर्नुपर्छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै