• २०८१ बैशाख २१ शुक्रबार

दक्षिण अफ्रिकी अदालतद्वारा पूर्वराष्ट्रपति जुमालाई पुनः जेल फर्किन आदेश

kharibot

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको एक अदालतले बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन आदेश दिएको छ । अदालतले उनलाई सेप्टेम्बरमा स्वास्थ्य समस्या देखिएको भनी परेको निवेदनमाथि सुनुवाई गर्दै उपचारका लागि अस्थायीरूपमा रिहा गरिएको थियो । 

जुमालाई स्वास्थ्यसम्बन्धी ‘पेरोल’मा राख्ने निर्णयलाई अदालतले ‘गैरकानुनी’ ठहर गर्दै बाँकी सजाय बिताउन पुनः जेलमा फिर्ता हुन उच्च न्यायालयका न्यायाधीश इलियास माटोजेनको फैसलामा उल्लेख छ । 

अदालतको बुधबारको फैसलाको केही घण्टाभित्रै जुमाका वकिलहरूले नयाँ अपील दर्ता गरेका छन् । यस कदमको अर्थ जुमा अपीलको सुनुवाई नभएसम्म जेलमा फर्कनुहुने छैन । 

जुमाका कानूनी सल्लाहाकारले निवेदनमा अदालतको निर्णय ‘बिरामीको स्वास्थ्य सेवा, मर्यादा र अन्य मानव अधिकारको उचित वास्ता नगरेर क्रुर र अपमानजनक आदेश भएको बताइएको छ । 

७९ वर्षका जुमालाई अदालतको अवहेलना गरेको आरोपमा जुलाईमा १५ महिना जेल चलान गरिएको थियो । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिले आफूमाथि लागेको भ्रष्टाचार मुद्दामा अनुसन्धानकर्तालाई साक्षी दिन नमानेपछि उहाँलाई जेल चलान गरिएको थियो । 

उनलाई जेल सजाय सुनाइएपछि पूर्व राष्ट्रपतिको गृह क्षेत्र, क्वाजुलु–नाटाल,मा हिंसात्मक विरोध तथा लुटपाट मच्चिएको थियो । उक्त विरोधको प्रभाब जुलाईमा जोहानेसबर्गमा फैलियो र त्यहाँ भएका झडपमा ३५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । 

सन् १९९४ मा श्वेत–अल्पसंख्यक शासनको अन्त भएदेखि दक्षिण अफ्रिकामा यो सबैभन्दा घातक हिंसा थियो । वर्तमान राष्ट्रपति सिरिल रामाफोसाले उक्त अशान्तिलाई देशलाई अस्तव्यस्त बनाउने प्रयास भएको बताएका थिए । 

सेप्टेम्बर ५ मा जुमालाई स्वास्थ्य उपचारका लागि अस्थायीरूपमा जेलमुक्त हुन अनुमति दिइएको थियो । यद्यपि उहाँलाई के समस्या थियो भन्नेबारे अदालतले केही जानकारी नगराइकन उपचारका लागि पठाएको भन्दै आदेशप्रति विपक्षी समूहबाट व्यापक असन्तुष्टि व्यक्त गरिएको थियो । जेलमा छँदा ‘सार्वजनिकरूपमा प्रकट नगरिएको स्वास्थ्य समस्या’ निको पार्न शल्यक्रियाको लागि उनलाई अस्पताल लगिएको थियो ।

विशेष भ्रष्टाचार विरोधी समितिद्वारा गरिएको जाँचको अलावा जुमालाई १९९९ मा पाँच युरोपेली कम्पनीबाट हतियार किन्ने सम्बन्धमा गरिएको भ्रष्टाचारको मुद्दामा पनि समावेश गरिएको छ । 

त्यतिबेला उपराष्ट्रपति रहेका जुमालाई फ्रान्सेली रक्षासम्बन्धी संस्था थेल्सबाट घूस लिएको आरोप लगाइएको छ । उनीमाथि १६ वटा ठगी, घूस र अपराधको अभियोग लगाइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै