काठमाडौँ । नेपालले मौरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि जित हासिल गरेको छ । मंगलबार काठमाडौँस्थित दशरथरंगशालामा सम्पन्न खेलमा नेपाल १-० गोल अन्तरले विजयी भएको हो ।
नेपालको जितमा खेलको १०औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
पहिलो हाफमा नेपाल १-० ले अग्रता लिएको यस खेलको दोस्रो हाफ भने तनावपूर्ण बनेको थियो । यस खेलमा मौरिससका दुई खेलाडीले रातो कार्ड पाउदा ९ खेलाडीमा सिमित भएको थियो भने नेपालका एक खेलाडी र एक अफिसियलले रातो कार्ड पाएका थिए । नेपाली खेलाडी पुजन नगरकोटीले दुई पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए भने नेपाली गोलकिपर प्रशिक्षक विकास मल्ल खेलाडीबीच विवाद हुदा मैदानमा प्रवेश गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।
खेलका क्रममा रंगशालाको लाइट गएपछि केहि बेर खेल अवरुद्ध भएको थियो ।
यो सँगै नेपालले मौरिससविरुद्द दुई खेलमा जित हासिल गरेको छ ।
यसअघि सम्पन्न पहिलो खेलमा पनि नेपाल १-० ले विजयी भएको थियो ।