• २०८१ बैशाख १६ आइतबार

इटालीले रूसी ग्यासमाथिको निर्भरता कम गर्ने उपायको खोजी गर्दै

kharibot

रोम । सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराएका छन् ।

रूस–यूक्रेनबीचको सैन्य द्वन्द्वका कारण यूरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका समय इटालीले रूसी इन्धनको विकल्पबारे अध्ययन गरिरहेको प्रधानमन्त्री ड्राघीले बताएका हुन् ।

सरकारले सम्भावित इन्धन सङ्कटबाट आउने अवस्थासँग जुझ्न निरन्तर अध्ययन गरिरहेको छ ।

यूक्रेनमा रूसले आक्रमण गरेसँगै इटालीलगायतका यूरोपेली मुलुकमा इन्धनको मूल्य आकासिएको छ ।  इटालीको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार इटलीमा प्राकृतिक ग्यासको मूल्यमा डिसेम्बरमा २९.१ प्रतिशतले बढेकोमा जनवरीमा यसमा थप वृद्धि भई ३८.६ प्रतिशत पुगेको छ । प्रारम्भिक तथ्याङ्कहरूले इन्धनको मूल्य आगामी दिनमा थप बढ्ने प्रक्षेपण गरेका छन् ।

ड्राघीका अनुसार इटालीले प्रयोग गर्ने प्राकृतिक ग्यासमध्ये ९५ प्रतिशत विदेशबाट ल्याइन्छ भने यसको ४० प्रतिशत रूसबाट आपूर्ति हुने गर्दछ । उनले भने- 'रूसबाट आयात हुने ग्यासमा कुनै अवरोध नआउने विश्वास व्यक्त गर्दै कुनै हालतमा आपूर्ति रोकिएमा यसको वैकल्पिक व्यवस्था गर्न सरकारले गृहकार्य थालेको छ ।'

इटालीमा बढ्दो गर्मीसँगै न्यानोका लागि प्रयोग गरिने ग्यासको मागमा कमी आउने बताइएको छ । इटालीसँग अहिले २ं५ अर्ब क्युविक मिटर ग्यास भण्डारण अवस्थामा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय