• २०८१ बैशाख १७ सोमबार

पपुवा न्युगिनीलाई पराजित गर्दै नेपाल त्रिकोणीय सिरिजको फाइनलमा

kharibot

काठमाडौं । आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनल पुगेको हो ।

यससँगै नेपालले आफ्नो ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ ।

नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो । 

नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले ।

यस्तै आदीलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए ।

त्यस्तै रोहित पौडेलले २३ बलमा २ छक्का र ४ चौकाको मद्दतमा ४१ रन जोडे । आसिफ शेखले २९ बलमा ३८ रन बनाउँदा कुशल भुर्तेलले १७ रनको योगदान गरे ।

पीएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए । यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १/१ विकेट लिए ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।  

यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।

मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै