काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना फेरी चिनियाँ कम्पनि गेजुवालाई दिने संकेत गरेका छन् ।
चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोष्टलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बुढीगण्डकी आयोजना निर्माण गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीसँगको सम्झौता खारेज गर्ने अघिल्लो सरकारको निर्णय उल्टाउने संकेत गरेका हुन् ।
ओलीले दिस विक इन एसियाका लागि दिएको अन्तर्वार्तामा-‘यस परियोजना रद्द गर्दा राजनीतिक पूर्वाग्रह वा प्रतिस्पर्धी कम्पनीको दबाबले पनि महत्वपूर्ण काम गरेको हुन सक्छ । तर हाम्रा लागि जलविद्युत् नै मुख्य ध्यान हो र जेसुकै होस् हामी बुढीगण्डकी परियोजना फेरि सुरु गर्नेवाला छौं ।’ भनेका छन् ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला उर्जा मन्त्रालयले बुढीगण्डकी आयोजना ईपीसीएफ मोडलमा बनाउन गेजुवासँग सम्झौता गरेको थियो ।
तर त्यसपछिको देउवा सरकारका उर्जामन्त्री कमल थापाले गत कात्तिक २८ गते चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरेर स्वदेशी लगानीमा नै बनाउने निर्णय गरेको थियो ।