• २०८१ बैशाख १४ शुक्रबार

कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता

kharibot

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिएका छन् ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार कार्कीले तीन हजार ५५१ मत पाएका छन् उनलाई पछ्याउँदै नेकपा एमालेका रामशरण ढुङ्गानाले तीन हजार १०७ मत ल्याएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए । नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापाले एक हजार ३१ मत पाएका छन् ।

थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित भएका थिए । नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु फुयाँलले २६८ मत पाएका छन् । 
  
यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले तीन हजार ९२५ मतका साथ अग्रता कायम गरेका छन् । उनलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रका भोला चापागाईं एक हजार ७८८ मत पाएका छन् ।

समाजवादीका सरस्वती नेपालले ५१९ मतका साथ पछ्याइरहेकी छन् । नगर उपप्रमुख राप्रपाका उम्मेद्वारले ४३५ मत पाएका छन् ।
 
वडा नं ९ मा कांग्रेसका अनिल थापा विजयी
 
नगरपालिकाको ९ नं. वडामा कांग्रेसका अनिल थापा वडाध्यक्ष पदमा विजयी भएका छन् । उनले एक हजार ५०२ मत प्राप्त गरे ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार ४४१ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।
 
वडा नं १ मा भने यसअघि नै एमालेका मुकुन्द गजुरेल निर्वाचित भइसकेका छन् ।

उनले एक हजार ७०७ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण खड्काले एक हजार ४३७ मत पाएको निर्वाचन कार्यालयले  जनाएको छ ।

अहिले नगरपालिकाको वडा नं २ र ८ को मतगणना भइरहेको छ ।

नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो ।

कांग्रेसले तीन वटा वडामा जितेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै