• २०८१ बैशाख १४ शुक्रबार

गाईबाच्छाको उद्धारका लागि एम्बुलेन्स खरिद गर्न सहयोग

kharibot

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न २३ लाख आर्थिक सहयोग गरेको छ ।

 नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई सोमबार २३ लाखको चेक हस्तान्तरण गरेका छन् ।

प्राप्त सहयोगले सडक, मठमन्दिर एवं सार्वजनिकस्थलबाट गाईबाच्छा उद्धार गरी संरक्षण स्थलसम्म लैजान पशु एम्बुलेन्स खरिद गरिने भएको छ ।

अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडक, मठमन्दिर एवं सार्वजनिक स्थलमा छाडा छोडिएका गाईबाच्छाको उद्धार गरी संरक्षण गर्दै आएको छ ।

एम्बुलेन्स खरिद गर्न नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै लामो समयदेखिको सपना साकार भएको संयोजक पुडासैनीले बताए ।

यो धर्ती अबोध प्राणीको पनि भएकाले निरन्तर सहयोग जुटाउँदै अभियानले छाडा छोडिएको गाईबाच्छा संरक्षण गर्दै आएको छ ।

लक्ष्मीमाताका रूपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने गाईबाच्छाले पनि ससम्मान जिउन पाउनुपर्छ भन्ने स्थापित गर्न अभियान सुरु भएको हो ।

सडकमा अलपत्र गाईबाच्छाको उद्धारमा अहोरात्र क्रियाशील असहाय गाईबाच्छा संरक्षण अभियानको आश्रयस्थलमा हाल करिब दुई सय गाईबाच्छाले संरक्षण पाइरहेका छन् । अभियानअन्तर्गत हरेक दिन सडकमा अलपत्र छाडिएका गाईबाच्छाको उद्धार गरिँदै आएको छ । 

स्वयंसेवीस्तरमा सञ्चालित अभियानमा व्यापक जनसमर्थन रहँदै आएको छ । समर्थनस्वरूप स्थानीयवासी र टाढाटाढाबाट समेत जन्मदिन मनाउन असहाय गाईबाच्छा संरक्षणस्थलमा सहयोगीको भीड लाग्ने गरेको छ । एम्बुलेन्सको आगमनसँगै अभियानमा नयाँ आयाम थपिने भएको छ ।

आगामी हप्तादेखि अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि पशु एम्बुलेन्स प्रयोगमा आउने छ । अभियानका लागि नगरपालिकाको वडा नं ८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले एक सय रोपनी जग्गा उपलब्ध गराएको छ । कोषको गुरुयोजनाअनुसार यो स्थानमा गौशाला स्थापना गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै