• २०८१ बैशाख १६ आइतबार

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको फराकिलो अग्रता कायमै

kharibot

गठबन्धनबाट उम्मेदवार बनेका जसपाका राजेशमान सिंह

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका राजेशमान सिंहले ५ हजार २१५ मतान्तरले अग्रतालाई निरन्तरता दिएका छन् । 

जसअनुसार सिंह ९ हजार ५०० मतसहित अग्रता कायम गरेका हुन् भने  नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले ४ हजार २९० मतसहित पछ्याइरहेका छन् ।

महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार  वीरगञ्ज महानगरपालिका–१, ३१ र  ३२  मतगणना सकिएको छ भने  वडा नं २, ३, ४, ५, २९ र ३० को मतगणना जारी छ । 

मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो । यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलहरुबीच खासै तालमेल भएको छैन  ।

पर्सामा मधेस प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकाहरुमा पनि  मतगणना जारी छ ।

जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक  फलामे तारजालीसहित सिसिटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ । पर्सा जिल्लामा रहेका कूल  १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनका लागि कूल  तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पर्सामा हाल एक लाख ४८ हजार २८३  महिला र  एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता थिए  । 

दुई वडामा जसपा र एकमा एमाले विजयी

मधेस प्रदेशमा रहेको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको दुई वडामा जनता समाजवादी पार्टी (जसपा) र एउटा वडामा एमालेका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् । वीरगञ्ज–१ मा जसपाका उम्मेदवार मनोज राउत कुर्मी, वडा नं ३२ मा जसपाकै रेयाज अहमद मिया र वडा नं ३१ मा एमालेका जितेन्द्र यादव वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै