• २०८१ बैशाख १५ शनिबार

जिप दुर्घटना अपडेट: आठको मृत्यु, सबैको सनाखत

kharibot

टक्सार (भोजपुर)। धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी-५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी-५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए ।

घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । 

धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको १ज २५९३ नम्बरको जिप आज बिहान १०ः३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो ।

जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै