• २०८१ बैशाख १६ आइतबार

मनोज पाण्डेलाई थप ७ दिन थुनामा राख्न अनुमति

kharibot

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन अनुसन्धान गर्न म्याद थप भएको छ ।

सोमबार पाण्डेलाई जिल्ला अदालत काठमाडौँले अनुसन्धानको लागि थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो । 

पाण्डे जेठ ७ गते शनिबार पक्राउ परेका थिए भने जेठ ९ गते जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

जेठ ४ गते बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । पाण्डे पक्राउ परेपछि थप दुई युवतीले पाण्डेले आफुलाई दुर्व्यवहार गरेको उजुरी प्रहरीमा गरेका थिए ।  

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।

सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पिडित युवतीले खुलाएपछि यो घटना बाहिर आएको थियो । घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् ।

यो विषय सार्बजनिक भएपछि सामाजिक संजाल र मिडियामा जोडदार रुपमा आवाज उठेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो ।

त्यस्तै संसदमा समेत यो विषय उठेपछि सभामुखले अनुसन्धान अगाडी बढाउन सरकारलाई रुलिङ गरेका थिए । त्यसपछि गृह मन्त्रालयले गत शुक्रबार घटनाको छानविनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनाएको थियो । समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सपना खड्का सदस्य छन् । समितिले अहिले घटनाको अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै