• २०८१ बैशाख १७ सोमबार

काठमाडौं महानगरमा तीन दिन भित्रमा ‘ब्रुमर’ सञ्चालनमा ल्याइने

kharibot

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन् । 

प्रमुख साहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले बु्रमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए । 

नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख साहले बताए । विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताए । बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख साहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए । समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उनले बताए । साहले भने, “साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यो सबैसँगै हुनुपर्छ ।”

उपप्रमुख सुनिता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताए । साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ छ । बैठकले नगरसभाको ११औँ अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ । बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन गरेको छ । 

बैठकमा प्रमुख साहले पेस गर्नुभएको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन भएको छ । सुशासन समितिमा वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिमा वडा नं १० का अध्यक्ष रामकुमार केसी र पूर्वाधार समितिमा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल छन् । वातावरण समितिमा वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र सूचना प्रविधि समितिमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर रहेका छन् । 

यस्तै, शिक्षा र स्वास्थ्य समितिमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, राजश्व समितिमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा नं ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन् । 

बैठकमा छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदाय स्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राखेका थिए । फोहरमैला व्यवस्थापन गर्ने, ब्रुमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापनका विषयमा वडा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।  बैठकमा प्रमुख साहले कार्यपालिका सदस्य मीना सुनारलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै