• २०८१ बैशाख २१ शुक्रबार

अग्निपथ योजनाको विरोधमा आज भारत बन्द, बिहार-झारखण्डमा उच्च सतर्कता

kharibot

काठमाडौँ । सेनामा भर्ना सम्बन्धि अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको घोषणा गरिएको छ ।

केन्द्र सरकारको अग्निपथ सैन्य भर्ती योजनाको विरोधमा केही संगठनहरूले सोमबार भारत बन्दको आह्वान गरेका हुन् । बन्दको सूचना पाएलगत्तै सरकार पनि सतर्क भएको छ । रेलवे सुरक्षा बल र सरकारी रेलवे पुलिसलाई पनि उच्च सतर्कतामा राखिएको छ । साथै बिहार-झारखण्डलगायत धेरै राज्यमा उच्च सतर्कता अपनाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

हालै सरकारले ल्याएको उक्त योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ । 

योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् । योजनालाई लिएर केही दिनदेखि भारतमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । युवाहरूको विरोधबीच सरकारले योजना फिर्ता नगर्ने बताउँदै आएको छ । रक्षा खर्च कटौती गर्ने बाहनामा सरकारले लाखौँ युवाको अवसर खोसेको आन्दोलनकारीले बताउँदै आएका छन् । सरकारले ल्याएको योजनाको विरोधमा आन्दोलनकारीले दर्जनौँ सवारी साधन र रेलमा आगजनी गरेका छन् । त्यस्तै, करोडौँ मूल्य बराबरको भौतिक सम्पत्तिमा क्षति पुर्याएका छन् । 

बिहारमा २५० रेलले आफ्नो सेवा रद्द गरेका छन् । आन्दोलनकारीले बिहारमा रेललाई निशाना बनाउँदै आएका छन् । बिहार सरकारले अतिसंवेदनशील मानिने पार्टी कार्यालयहरूमा सुरक्षा बढाएको छ । हालसम्म २० जिल्लामा इन्टरनेट सेवा बन्द छ ।  केरला प्रहरीले आफ्नो सम्पूर्ण बल आज हिंसा नियन्त्रणमा लगाउने जनाएको छ । 

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार झारखण्डमा सोमबार स्कूलहरू बन्द गरिएका छन् ।  त्यहाँ कक्षा ९ र ११ को चलिरहेको परीक्षा पनि स्थगित गरिएका छन् । दिल्ली नजिकैको गौतम बुद्ध नगरमा ठूला जमघटहरूमा प्रतिबन्ध लगाउने निषेध आदेश लगाइएको छ । विभिन्न राज्यबाट दर्जनौँ आन्दोलनकारी पक्राउ परेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै