• २०८१ बैशाख १७ सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु

kharibot

फाइल तस्वीर

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पहिलो पटक ब्रोन्कोस्कोपी सेवा सुरु गरेको छ । प्रतिष्ठानले आजदेखि ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो ।

मध्य तथा सुदूरपश्चिम नेपालका एकमात्र छाती रोग विशेषज्ञ डा अनुस्मृति पालको टोलीले प्रतिष्ठानमा ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो । ब्रोन्कोस्कोपी मेशिन यसपालि नै आएपछि यसको सेवा सुरु गरिएको विशेषज्ञ डा पालले बताइन् ।

“यो मेशिन केही दिनपहिले मात्र आएको हो”, उनले भनिन्, “हामीले आजदेखि भने विधिवत्रूपमा यो सेवा सुरु गरेका छौँ ।” उनका अनुसार ब्रोन्कोस्कोपी सेवा सुरु भएकाले अब कर्णाली क्षेत्रका शङ्कास्पद क्षयरोग, फोक्सोको क्यान्सर, फोक्सो सुकेको, खकारमा रगत देखिने, फोक्सोमा केही कुरा अड्केको, मुखबाट रगत बग्ने, दीर्घ खोकीलगायतको समयमै निदानका लागि सहयोगी हुनेछ । यो सेवा सुरु हुनुपूर्व बिरामीहरु चिवतन, काठमाडौँ धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै डा पालले अब यसले समयमै निदानका लागि सहयोग पुग्ने बताइन् । उनका अनुसार कर्णालीमा सेवा सुरु भएपछि त्यस क्षेत्रका मानिसहरुलाई उपचार गर्न सहज हुनेछ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले शङ्कास्पद क्षयरोग, खकारमा रगत बग्ने, फोक्सोको क्यान्सर र दीर्घ खोकीलगायतका बिरामीको उपचारमा यो सेवाबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको बताए । उपकुलपति डा रावलका अनुसार काठमाडौँ, चितवनभन्दा यता पश्चिम नेपालमा छाती रोग विशेषज्ञ (पल्मोनोलोजिस्ट) डा पाल एकमात्र भएको दाबी गरे ।  

विकट हिमाली जिल्ला जुम्लामा विसं २०७२ देखि विशेषज्ञ डा पाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्दै आएकी छन् । छाती रोगको विशेषज्ञ सेवा जुम्लामा सञ्चालनमा आएपछि कर्णालीवासीमा थप खुसी मिल्नाका साथै आर्थिक भारमा पनि राहत पुग्ने भएको प्रतिष्ठानले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै