• २०८१ बैशाख १७ सोमबार

अमेरिकालाई हराउदै नेदरल्याण्डस विश्वकपको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । नेदरल्याण्डस विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

शनिबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस जारी विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

नेदरल्याण्डसको जितमा मेम्फिस डिपे र डाली ब्लाइन्डले एक एक गोल गरेका हुन् । डिपेले खेलको १०औं मिनेटमा नै पहिलो गोल गर्दै नेदरल्याण्डसलाई शुरुवाती अग्रता दिलाएका थिए भने ब्लाइन्डले खेलको पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै नेदरल्याण्डसको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै खेलको ८१औं मिनेटमा डेन जेल डमफ्राइजले नेदरल्याण्डसका लागि तेस्रो गोल गरेका थिए । डमफ्राइज यस अघिका दुवै गोल असिस्ट समेत गरेका थिए । 

त्यसैगरी अमेरिकाका लागि एक गोल खेलको ७६औं मिनेटमा हाजी राइटले गरेका थिए । योसँगै अमेरिकाको विश्वकप यात्रा भने टुंगिएको छ । यस अघि १९३० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको अमेरिका पछिल्लो पटक २००२ को विश्वकपमा क्वाटरफाइनलमा पुगेको थियो । त्यस्तै २०१८ को विश्वकपमा छनौट नभएको अमेरिका २०१० र २०१४ को विश्वकपमा राउण्ड १६ बाट नै बाहिरएको थियो ।

योसहित ११औ पटक विश्वकपमा खेलिरहेको नेदरल्याण्डस योसहित सातौँ पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । नेदरल्याण्डस यसअघि १९७४, १९७८ र २०१० मा विश्वकपको उपविजेता बनेको थियो भने २०१४ मा तेस्रो र १९९८ मा चौथो स्थान हासिल गरेको थियो ।

अब नेदरल्याण्डसले क्वाटरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको विजेतासँग खेल्ने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै