• २०८१ बैशाख २२ शनिबार

क्रिसमसमा कम खर्च गरेर युक्रेनलाई रकम दान गर्न पोपको अपिल

kharibot

काठमाडौँ । क्रिस्चियन धर्मावलम्बीका सबैभन्दा ठूलो धर्मगुरु पोप फ्रान्सिसले विश्वलाई क्रिसमसमा कम खर्च गरेर सो रकम युक्रेनलाई दान गर्न अपिल गरेका छन् ।

पोपले बुधबार एक अपिल जारी गर्दै यस पटकको क्रिसमसमा कम खर्च गरेर युक्रेनका जनतालाई सहयोग गर्न भनेका हुन् ।

पोपले भनेका छन्- 'यस पटक क्रिसमसमा कम खर्च गर्नुहोस् र बाँकी रहेको पैसाले युक्रेनका जनतालाई सहयोग गर्नुहोस्। द्वन्द्वका कारण त्यहाँका जनताले भोकमरी र जाडोको चपेटामा परेका छन् ।'

रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेयता युद्ध एक दिन पनि रोकिएन । पोपले लगभग हरेक सार्वजनिक कार्यक्रममा युक्रेनलाई सहयोग गर्न मानिसहरूलाई अपील गरिरहेका छन् ।

भ्याटिकन सिटीमा आयोजित एक कार्यक्रममा पोप फ्रान्सिसले भने– युक्रेन निकै कठिन समयबाट गुज्रिरहेको छ । आगामी महिनाहरूमा यी समस्याहरू बढ्ने खतरा छ। यस वर्ष पनि क्रिसमस मनाउनुहोस्, तर आफ्नो खर्च कम गर्नुहोस्।

तपाईसँग मेरो एउटा मात्र अनुरोध छ। सादगीका साथ क्रिसमस मनाएर बाँकी रहेको पैसा युक्रेनको कल्याण र त्यहाँका मानिसहरूलाई सहयोग गर्न खर्च गर्नुहोस्। उनीहरुलाई यस समयमा हाम्रो सहयोगको खाँचो छ ।

पोपले थप भने– युक्रेनका जनता युद्धका कारण ठूलो समस्यामा छन् । तिनीहरूको अगाडि भोकमरीको खतरा छ। यसबाहेक त्यहाँ कडा जाडो सुरु भएको छ । आवश्यकताअनुसारका डाक्टर र नर्ससमेत छैनन् । त्यहाँ बिजुली, पानी र उर्जाको समस्या बढ्दै गएको छ । तापक्रम शून्य डिग्री सेल्सियसभन्दा तल पुगेको छ ।

पोप को अपीलको एक दिन अघि, रोमको सान्ता सोफिया चर्चले अपील जारी गरेको थियो । जसमा इटालीका जनतालाई युक्रेनका जनतालाई सहयोग गर्न कपडा र औषधि दान गर्न भनिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै