• २०८१ बैशाख १६ आइतबार

म्याक्रोन आगामी साता युक्रेन भ्रमणमा जादै

kharibot

पेरिस ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘आगामी साताहरू’ मा यसअघि स्थगित भएको युक्रेनको भ्रमण गर्दै छन् । उनले फेब्रुअरीमा युक्रेनको भ्रमण गर्ने बताएका थिए । यसअघि उक्त भ्रमण मार्चको मध्यअघि हुने सङ्केत दिएका थिए । 

सन् २०२२ फेब्रुअरीमा पूर्णस्तरको रुसी आक्रमणको सुरुआतपछि म्याक्रोनको यो दोस्रो युक्रेन भ्रमण हो । उक्त वर्ष उनले जर्मन चान्सलर ओलाफ सोल्स र इटालीका तत्कालीन प्रधानमन्त्री मारियो द्राघीसँग किएभको भ्रमण गरेका थिए । 

फ्रान्सेली राष्ट्रपतिले हालैका साताहरूमा युक्रेनका लागि समर्थन बढाउने आफ्नो आह्वानले रुसलाई चिढ्याएका छन् । क्रेमलिनले गत साता युक्रेन युद्धमा उनले फ्रान्सको संलग्नता बढाइरहेको चेतावनी दिएको थियो । 

राष्ट्रपति निवास एलिसीले विज्ञप्तिमा भनेको छ, “आइतबार साँझ म्याक्रोनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुराकानी गर्नुभयो र दुवै जना निकट सम्पर्कमा रहन सहमत हुनुभयो, राष्ट्रपति म्याक्रोनको युक्रेन भ्रमण आगामी साताहरूमा हुनुपर्दछ ।”

आइतबार विज्ञप्तिमा युक्रेनको आगामी भ्रमणका बारेमा अन्य कुनै विवरण नदिइए पनि फ्रान्सेली सञ्चार माध्यमहरूका अनुसार म्याक्रोनको भ्रमण सुरक्षाका कारण बारम्बार स्थगित गरिएको हो । म्याक्रोनले फेब्रुअरीको मध्यमा पेरिसमा जेलेन्स्कीलाई स्वागत गरेका थिए । उक्त अवसरमा दुवै नेताले द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । 

गत साता दक्षिणी युक्रेनी बन्दरगाह सहर ओडेसामा जेलेन्स्की र भ्रमणमा रहनुभएका ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको मोटरकाडनजिकै घातक रुसी क्षेप्यास्त्र आक्रमण भएको देखिएको थियो । 

फ्रान्सेली अखबार ला ट्रिब्युनल दिमान्चेले म्याक्रोनको निकट स्रोतलाई उद्धृत गर्दै भनेको छ, “हामीले यसलाई एक सन्देशका रूपमा लिएका छौँ ।” अखबारका अनुसार म्याक्रोनको सुरुमा फेब्रुअरी १३ र १४ मा राजधानी किएभ र ओडेसाको भ्रमण गर्ने कार्यक्रम थियो । 

म्याक्रोनले यसपटक सम्भवतः बाल्टिक राज्यहरू, रोमानिया, बेलायत र चेक गणतन्त्रसँगै फेरि युक्रेनको भ्रमण गर्न सक्नुहुने ला ट्रिब्युन दिमान्चेले बताएको छ । 

फेब्रुअरीको अन्त्यमा म्याक्रोनले युक्रेनमा पश्चिमी सेना पठाउन अस्वीकार गरेर हङ्गामा मच्चाउनुभएको थियो । गत साता फ्रान्सेली रक्षामन्त्री सेबेस्टियन लेकोर्नुले युक्रेनमा लड्न पश्चिमी लडाकू सेनाको तैनाथी टेबलमा नभएको भए पनि ठूलो सैन्य उपस्थितिमा युक्रेनी भूमिमा माइन क्लियरेन्स र युक्रेनी सेनाको प्रशिक्षणमा समावेश हुनसक्ने बताएका थिए । 

फ्रान्सेली राष्ट्रपति र जेलेन्स्की दुवैले अन्य प्राथमिकताका बीच साइबर सुरक्षा, माइन क्लियरेन्स, युक्रेनमा हतियारको मर्मत र सह–उत्पादन तथा सीमा सुरक्षामा ‘प्रगति गर्ने इच्छा’ दोहोर्याउनुभएको म्याक्रोनको कार्यालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै