• २०८१ बैशाख १५ शनिबार

अमेरिकी संसदले ६ पटकको मतदानमा पनि चुन्न सकेन सभामुख

kharibot

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभको सभामुख चयनको विषय पेचिलो बनेको छ । 

रिपब्लिकन पार्टीको बहुमत रहेको संसदमा दुई दिनमा ६ पटक भएका सभामुखको मतदानमा जितका लागि आवश्यक २१८ मत ल्याउन नसकेपछि सातौं चरणको मतदान हुने भएको सीएनएनले जनाएको छ । 

४३५ सदस्यीय संसदमा रिपब्लिकन पार्टीको २२२ मत रहेको छ भने डेमोक्रेट पार्टीको २१३ मत रहेको छ । 

तर दोस्रो चरणमा भएको मत दानमा रिपब्लिकन पार्टीका सभामुख पदका उम्मेदवार केभिन म्याककार्थीले २०१ मत मात्र पाएका थिए ।  सभामुख पदका रिपब्लिकन पार्टीकै अर्का उम्मेदवार बाइरोन डोनाल्डले २० मत ल्याएका थिए । त्यस्तै डेमोक्रेटका सांसदहरुले भने सबै २१२ मत आफ्ना उम्मेदवारलाई दिएका थिए । सभामुखमा निर्वाचित हुनका लागि २१८ मत आवश्यक पर्ने हुनाले त्यो मत नल्याएसम्म मतदान जारी रहने बताइएको छ । २० रिपब्लिकन सांसदहरुले केभिनलाई समर्थन गर्न नसक्ने बताएपछि यो विषय पेचिलो बनिरहेको छ । 

अमेरिकी संसदमा १९२३ पछि सभामुखको निर्वाचन पहिलो पटक एक भन्दा बढी पटक भएको छ । 

हाल डेमोक्रेटका सांसदहरुले रिपब्लिकनले संसदमा पावर शेयर गर्ने भएमा समर्थन गर्नसक्ने प्रस्ताव गरेको बताइएको छ । अमेरिकामा २०२४ मा हुने राष्ट्रपति निर्वाचनलाई जोडेर सभामुखको निर्वाचनमा रिपब्लिकन सांसदहरुबीच एकता हुन नसकेपछि यस्तो अवस्था आएको विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै