• २०८१ बैशाख १७ सोमबार

बीमा सेवाग्राहीमा भरतपुर अस्पताल पहिलो

kharibot

चितवन । स्वास्थ्य बीमाबाट सेवा लिनेमा भरतपुर अस्पताल पहिलो बनेको छ । देशभरका अस्पतालमा सबैभन्दा बढी भरतपुर अस्पतालबाट सेवाग्राहीले बीमा सेवा लिएका हुन् ।

बीमा बोर्डको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म दुई करोड ५१ लाख ८१ हजार दुई सय ८९ बीमा दाबी गरिएको छ । त्यसमध्ये भरतपुर अस्पतालको ६३ लाख पाँच सय ६९ रहेको छ । दोस्रोमा नोवेल मेडिकल कलेजको ६१ लाख चार हजार ९४ र बिपी कोइराला इन्स्टिच्युट धरानको ५७ लाख नौ हजार ६१ रहेको छ । अन्यको दाबी सङ्ख्या कम छ ।

अस्पतालका बीमा विभाग प्रमुख लीलाधर पौडेलका अनुसार अस्पतालले बीमा बोर्डबाट हालसम्म रु ९७ करोड ६३ लाख ११ हजार आठ सय २७ प्राप्त गरिसकेको छ । रु १५ करोड हाराहारी दाबी गरी पठाइएको भुक्तानी हुन बाँकी छ । 

विसं २०७४ भदौ १ गतेदेखि यहाँ बीमा लागू भएको हो । चितवनसहित तनहुँ, गोरखा र नवलपरासीका नागरिकले प्रथम बिन्दुका रुपमा भरतपुर अस्पताललाई राखेका छन् । पौडेलका अनुसार ‘रिफर’ भएर आउने बिरामी २२ भन्दा बढी जिल्लाका छन् ।

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गरेका छन् । पुस ११ गते एक दिनको तथ्याङ्क हेर्दा एक हजार चार सय ६५ बिरामी बहिरङ्ग सेवामा आएकामा एक हजार ७६ जना अर्थात् ७३ प्रतिशत बीमाका रहेका थिए ।

चितवनमा हाल स्वास्थ्य बीमा गर्नेको सङ्ख्या चार लाख १६ हजार आठ सय ५१ छ । स्वास्थ्य बीमामार्फत दाबी गर्ने औषधिमा ग्यास्ट्रिकका बढी छ । उपचारतर्फ सबैभन्दा बढी बहिरङ्ग सेवा लिनेछन् । रोग परीक्षणतर्फ उच्च रक्तचापका बिरामी बढी हुने गरेको पौडेलले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार बीमा दाबीमा भरतपुर अस्पताल पहिलो हो । उनले भने, “हामीले दाबी गरेका फाइल न्यूनमात्रै अस्वीकृत हुने गरेका छन् ।” दाबीमा पहिलो हुँदा पनि अस्वीकृत हुनेमा १०औँभित्र पनि भरतपुर अस्पताल पर्दैन ।

अस्पतालमा बीमा सेवामा तालिम प्राप्त कर्मचारीको टोली रहेकै कारण राम्रो सेवा र दाबी गर्न सकिएको पौडेलको भनाइ छ । सत्तरी प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने भएकाले उनीहरुलाई लक्षित गरी सेवालाई चुस्त दुरुस्त बनाउनेमा अस्पताल प्रशासन लागेको पौडेल बताउछन् । उनले भने, “हामीले बीमालाई नमुना बनाएका छौँ, बिरामीले पाउने सेवा सहज बनाउनेमा हाम्रो ध्यान छ ।” 

न्यून जनशक्तिका कारण सोचेजस्तो सेवा अझै दिन नसकिएको स्वीकार्दै उनले श्ययाअनुसारको दरबन्दी स्वीकृत भएसँगै कुनै समस्या नहुने बताए । अस्पतालको ओएनएम सर्भे गरेर स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकिएको छ । 

बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भरतपुर अस्पतालले बीमा दाबीमा धेरै राम्रो गरेको बताए । विगतको तुलनामा सुधार गरेर उत्कृष्ट काम गर्ने संस्थामध्येमा भरतपुर अस्पताल रहेको उनको भनाइ छ ।

बीमा बोर्डले विगत छ वर्षको अवधिमा हालसम्म करिब रु २५ अर्ब भुक्तानी गरिसकेको छ । उनका अनुसार अब रु तीन अर्ब भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये रु एक अर्ब ५० करोड आउँदो हप्ताबाट भुक्तानी प्रक्रियामा जाँदैछ । बीमाबाट सेवा दिने देशभरका चार सय ५१ अस्पताल रहेका छन् । 

विपन्न कार्यक्रमको भुक्तानीसमेत बोर्डलाई दिनका लागि सरकारले रु दुई अर्ब ४७ करोड निकासा गरेको छ । ती कार्यक्रमको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयको नर्सिङ महाशाखाले गर्ने भए पनि त्यहाँबाट प्रक्रिया पुगेर नआएकाले भुक्तानीमा ढिलाइ भएको उनले जानकारी दिए । बोर्ड रकम वितरणका लागि तयारी अवस्थामा रहेको उनको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै