• २०८१ बैशाख २१ शुक्रबार

आइसिसी विश्वकप क्रिकेट लिग-२: आज नेपालको सामना पीएनजीसँग

kharibot

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम सिरिज आजदेखि काठमाडौँमा शुरु हुदै छ । यस सिरिजमा नेपालसहित युएई र पपुवा न्युगिनी (पिएनजी) खेल्दै छन् ।

यस सिरिजको पहिलो खेलमा आज नेपालले पिएनजीको सामना गर्दै छ । खेल विहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा शुरु हुने छ ।

नेपाल हाल आइसीसी विश्वकप लिग-२ मा ३२ खेलबाट ३२ अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै युएई ३२ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै पिएनजी ३२ खेलमा ९ अंकसहित पुछारमा रहेको छ ।

अब लिगको शीर्ष तीनमा पुग्न नेपालले बाँकी चारै खेल जित्नुपर्ने अवस्थामा छ । त्यस्तै युएईले आफ्ना अन्तिम चार खेल जितेपनि शिर्ष तीनमा रहन नामिबियाभन्दा राम्रो रनरेट हुनुपर्ने अवस्थामा रहेको छ ।

आइसीसी विश्वकप लिग-२ को अन्य चार टिमले क्वालिफायर प्लेअफ खेल्न पाउने छन् । त्यस्तै आइसीसी विश्वकप लिग-२ को शिर्ष पाँच देशको एकदिवसीय मान्यता जोगिने छ । लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहदै विश्वकप छनौटमा पुगिसकेका छन् । 

त्यस्तै नामिबिया ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल चौथो स्थानमा रहेको छ ।

नेपालले आजदेखि काठमाडौँमा हुने त्रिकोणीय सिरिजमा आज पपुवा न्युगिनीसँग, फागुन २८ (मार्च १२)  मा युएईसँग र फागुन २९ (मार्च १३) मा पपुवा न्युगिनीसँग र चैत्र २ (मार्च १६) मा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

यो सिरिजका लागि छानिएका नेपाली खेलाडी:

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

त्यस्तै रिजर्भ खेलाडीको रुपमा सन्दीप जोरा, श्याम ढकाल, कमल सिंह ऐरी र अर्जुन साउदलाई राखिएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै